पूर्वपञ्च दीपक बोहोराको नेतृत्वमा मिडियामैत्री प्रतिबद्धता, सत्तारुढ गठबन्धन मौन

पूर्वपञ्च दीपक बोहोराको नेतृत्वमा मिडियामैत्री प्रतिबद्धता, सत्तारुढ गठबन्धन मौन

राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एमाले र जनता समाजवादीका साझा उम्मेदवारको रुपमा रुपन्देही क्षेत्र नम्बर ३ का उम्मेदवार दीपक बोहोराले सञ्चार क्षेत्रको विकासमा विशेष योगदान पुर्याउने प्रतिबद्धता जनाएका छन् ।

तीन दलीय तालमेलको तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार बोहोरा,प्रदेश सभा सदस्य पदका उम्मेदवार महेन्द्र यादव र तुलसी चौधरीको निम्ति मत माग्दै संयुक्त प्रचार प्रसार समितिले विभिन्न शीर्षकमा १३० बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ ।

प्रतिबद्धतामा प्रेसलाई पूर्ण स्वतन्त्र राखिने र आमसञ्चारलाई व्यवसायिक र जिम्मेवार बनाइने उल्लेख छ । आधुनिक सूचना तथा सञ्चारको प्रत्येक नागरिकसम्म पहुँचमा बृद्धि गराइने भनिएको छ ।

लुम्बिनी प्रेस क्लबको भौतिक विकास र नेपाल पत्रकार महासंघको निम्ति आवश्यक सहयोग गरिने योजना प्रतिबद्धतामा जनाइएको छ । त्यसैगरी रुपन्देहीका पत्रकारहरुको निम्ति विकास र सुशासनसम्बन्धी पत्रकारिता तालिम, फेलोसिपको व्यवस्था गरिने,सार्वजनिक क्षेत्रमा फ्री वाईफाई जोनको व्यवस्थालगायत उनीहरुको पत्रमा लेखिएको छ ।

सञ्चार क्षेत्रलाई राज्यकोषबाट विशेष सहयोगको व्यवस्था गर्दै मिडिया तथा अनुसन्धान केन्द्र स्थापना गरिने लिखित भनाइ पनि आएको छ । प्रतिबद्धतापत्र मस्यौदा निर्माण समितिका संयोजक चार्टर्ड एकाउण्टेण्ट शिवहरि शर्माले भैरहवामा पत्रकारिता अनुसन्धान प्रतिष्ठान बनाइने,अग्रज पत्रकारहरुलाई सामाजिक सुरक्षा पेन्सन योजनामा सहयोग गराइने बताए ।

ती सबै कुरा बताइसकेपछि उनीहरुले सो क्षेत्रका उम्मेदवार दीपक बोहोरालाई हलो, महेन्द्र यादवलाई छाता र तुलसी चौधरीको सूर्य चिन्हमा मतदान गर्न अपिल गरिएको छ ।

यसअघि काँग्रेस नेतृत्वको पाँचदलीय गठबन्धनले सार्वजनिक गरेको ६७ बुँदे संकल्पपत्रमा मिडियाबारे केही उल्लेख छैन । त्यसबारे चर्को टिप्पणी भएपछि गठबन्धनले मिडिया क्षेत्रलाई पनि सम्बोधन गर्ने मस्यौदा समितिका संयोजक प्राध्यापक सुदर्शन नेपालले बताएका थिए ।

टिप्पणीहरू