भने पुग्ने, गर्न केही नपर्ने, २५ वर्षको उमेरमा राष्ट्रपति बनाइने

भने पुग्ने, गर्न केही नपर्ने, २५ वर्षको उमेरमा राष्ट्रपति बनाइने

आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरुले अचम्मका प्रतिबद्धता जनाएका छन् । स्रोत, साधन र कानुनको अभावमा सम्भव नदेखिएका प्रतिबद्धताले सबैको घोषणापत्रलाई अर्थहीन बनाइदिएको छ ।

सोही क्रममा हाम्रो नेपाली पार्टीको ‘लौरो अभियान’ ले जारी गरेको प्रतिबद्धतामा २५ वर्षे ठिटोलाई राष्ट्रपति बनाउनेदेखि बलात्कारीलाई नपुंसक बनाएर कारवाही गर्ने उल्लेख छ । सुमन सायमी संयोजक रहेको ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ ले आज आफ्नो चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ ।

पार्टीले दीर्घकालीन विकासका लागि १ वर्ष, ५ वर्ष ५० वर्षको योजना बनाउने बताएको छ । ७ वटै प्रदेशमा ७ चक्रपथ निर्माण गर्ने, तराई पहाड र हिमाललाई जोडेर ७ वटा चक्रपथ तथा अध्यात्मिक मार्ग बनाउने घोषणा गरिएको छ ।

प्रतिबद्धतामा ७७ वटै जिल्लामा शिक्षा, स्वास्थ्य, कृषि र पर्यटकको अवधारणासहित हरेक सहर र गाउँलाई स्वर्गको बगैँचाको रुपमा सजाउने उल्लेख छ ।

हरेक जिल्लामा १० लाख विरुवा रोपिने, प्रत्येक वडामा संकलन केन्द्र र प्रशोधन केन्द्र स्थापना गरिने बताइन्छ । वैदेशिक ऋणको भार कम गर्न उत्पादनमूलक अर्थतन्त्रमा जोड दिइएको छ । उसले, ‘विदेशबाट आयात गरिने दाँत कोट्याउने सिन्काको आयात रोक्ने जनाएको छ ।’

लौरोले प्रदेश सरकार र प्रदेश संसद १०८ जना प्रत्यक्ष निर्वाचनबाट चुनिने व्यवस्था गर्ने, राष्ट्रपतिका लागि ४५ वर्षको संवैधानिक उमेरलाई घटाएर २५ वर्षमा झार्ने, भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण गर्ने, जन्मकैदको सजाय गर्नेलगायत आकर्षक विषय समेटेको छ ।

टिप्पणीहरू