सडकमा बेहोस भएर अस्पतालमा बितेकाको पहिचान खुल्यो

सडकमा बेहोस भएर अस्पतालमा बितेकाको पहिचान खुल्यो

चरिकोट–मन्थली सडकमा बेहोस अवस्थामा फेला परेपछि उपचारको क्रममा मृत्यु भएका पुरुषको पहिचान खुलेको छ । भीमेश्वर नगरपालिका ३ स्थित चरिकोट–मन्थली सडकमा बेहोस अवस्थामा फेला परेका पुरुष मेलुङ गाउँपालिकाको भएको पुष्टि भएको छ ।

मृतक पुरुष मेलुङ गाउँपालिका वडा नम्बर ६ का देवबहादुर तामाङको छोरा झनकबहादुर तामाङ रहेको पुष्टि भएको दोलखाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक राजेश सिंग्देलले जानकारी दिए ।

तामाङलाई हिजो बेलुकी भीमेश्वर वडा नम्बर ३ स्थित चरिकोट–मन्थली सडकमा बेहोस अवस्थामा फेला पारिएको थियो । बेहोस अवस्थामा फेला परेको खबर प्राप्त भएसँगै प्रहरी टोलीले उनलाई उपचारको निम्ति पशुपति चौंलागाई स्मृति अस्पतालमा पुर्याएको थियो । उपचारको क्रममा आज बिहान मृत्यु भएको हो ।

मृतक तामाङ भदौदेखि सम्पर्कविहीन रहेको पारिवारिक स्रोतले जनाएको छ । मृतकको शव पोष्टमार्टमपछि आफन्तजनले बुझेका हुन् ।

टिप्पणीहरू