गाउँपालिका प्रमुखमाथि आरोपै आरोप, करार कर्मचारी भर्नामा पक्षपात
काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिकाका जनप्रतिनिधिमाथि करार कर्मचारी पदपूर्तिमा पक्षपात, सडक मर्मत नभएको, वडामा समानुपातिक बजेट नछुट्याइएको भन्दै आलोचना, टिकाटिप्णी र आरोप लाग्न थालेको छ ।
बजेट विनियोजनमा आफ्नो पार्टीका कार्यकर्ता भएको ठाउमा बढी बजेट पार्ने र नभएको ठाउँमा कम बजेट पार्ने आरोप स्थानीयले लगाउन थालेका छन् । सबै वडामा समावेशी बजेट नभएपछि यस्ता गुनासो आउनु स्वाभाविक भएको उनीहरुको भनाइ छ ।
नयाँ नेतृत्वको स्थानीय सरकार आएपछि गाउँपालिकाभित्रका सबै कर्मचारीलाई पुनः खुल्ला रुपमा प्रतिस्पर्धा गर्न लगाइयो । त्यसपछि अधिकाँशलाई हटाइयो । उक्त विषयलाई भने पुराना कर्मचारी तथा भुम्लुली अधिकांश जनताले आफ्नो मान्छेलाई रोजगारी दिलाउने चाल रचेको आरोप लगाएका हुन् ।
गाउँपालिका प्रमुख प्रेमबहादुर भुजेलले भने आफूहरूले निष्पक्ष रुपमा काम गरेको दाबी गरेका छन् । करार कर्मचारी पदपूर्तिको विज्ञापनमा रुकुमका परिक्षार्थी प्रकाश खनालले आफूले शतप्रतिशत उत्तर मिलाए पनि नाम ननिस्केको भन्दै गुनासो गरेका छन् । उनले यस विषयमा पालिका अध्यक्षसँग गरेको कुराकानीको रेकर्ड समेत बाहिर ल्याएका छन् ।
उक्त रेकर्डमा पालिका प्रमुख भुजेलले आफूले बनाएको नीतिमा फेल खाएको र कुनै ठाउँ खाली भएमा खनाललाई सिफारिस गर्न सक्ने बताएको सुन्न सकिन्छ । प्रमुखसँगको कुराकानीको रेकर्ड बाहिरिएपछि थप आलोचना र टिकाटिप्णी भएको हो । अहिले गाउँमा भर्ना गरिएका सबै करार कर्मचारी आफ्ना भएको आरोप व्याप्त भएको छ ।
अघिल्लो स्थानीय सरकारको पालामा कुनै पनि भुजेल थरका व्यक्ति पालिकामा रोजगार थिएनन् । तर प्रमुखमा भुजेल निर्वाचित भएपछि एक दर्जन भुजेलहरुले रोजगारी पाउनुले निष्पक्षतामाथि शंका गर्ने ठाउँ मिलेको स्थानीय बताउँछन् ।
चालकको परिक्षामा पनि उक्त समयमा सामेल नभएका परिक्षार्थीले वैकल्पिकमा नाम निकालेको आरोप छ । उक्त आरोपमा पालिकाले आफूहरुले अर्को दिनमा छुट्टै बोलाएर परीक्षा लिएको रेडिमेड जवाफ दिएको छ । तर परिक्षाको समयमा हाजिर नभएकालाई पुनः किन बोलाइयो भन्ने विषयले समेत थप शंका थपेको छ ।
यस विषयमा स्थानिय सुमन शिवभक्तिले पालिका अध्यक्षलाई प्रश्न गरेका छन्, ‘प्रयोगात्मक र मौखिक परिक्षामा सम्मिलित नभई कसरी लिखित परिक्षामा नाम आयो ? सामाजिक सञ्जालमा निष्पक्ष भन्नुहुन्थ्यो कसरी निष्पक्ष भयो, जवाफदेही हुनुपर्यो ।’
स्थानिय भुम्लु चौबासकी बबिता कुँवर भन्छिन्, ‘नीतिगत रूपमा राखिएका करार कर्मचारीलाइ हटाउने, स्थानीय तहमा स्थानीयलाई प्राथमिकतामा नराख्ने उक्त कार्यविधिमा भएको नक्कली नीति हो । करारमा नाम स्थानीयको निस्किँदा फाल्ने र बाहिरकालाई एक कल फोन को भरमा भर्ना गर्ने काम यो सरकारले गरेको छ ।’
उनले आक्रोश हुँदै थपिन, ‘बिरुवासम्म ठाउँमा रोप्नुपर्ने हो । तर भूक्षय हुने पाखामा बेवास्ता गरिएको छ । वनजङ्गल विनास भइरहेको छ । अनुगमन छैन । विद्यालय अनुगमन भनेको छ केही गरिएको छैन । बर्खामा गएको पहिरोले बन्द गरेको बाटो अहिलेसम्म खुलाइएको छैन । मैले देखेको राम्रो काम भनेको दीर्घ रोगीलाई मासिक पाँच हजार भत्ता दिने मात्रै हो ।’
अर्का स्थानी नेत्र बहादुर कुँवर भन्छन् ‘पहिलेका कर्मचारी फालेर आफ्नालाइ राखियो । वडाको बजेट पालिकाले खर्च गर्ने रे । आफ्ना आसेपासेलाई काम र दाम सुम्पने यो कार्य गलत हो ।’
सडक सम्बन्धमा पनि भुम्लुका स्थानीयले धेरै गुनासो गरेका छ्न् । आजभन्दा अगाडि र अहिलेको नेतृत्वमा कुनै फरक नभएको उनीहरुको बुझाइ छ । केही महिना अगाडि भुम्लु गाउँपालिकाको सापिङ १ भोटेटारको नवजात शिशुको बाटैमा ज्यान गएको थियो । सडक मर्मत नहुनाले स्वास्थकर्मी पुग्न ढिलो भएका कारण उनको ज्यान गएको हो ।
स्थानीय अमृत खड्का भन्छ्न, ‘विरुवा मात्रै रोप्दैमा विकास हुँदैन । सडक गतिलो नभएको कारण अकालमा ज्यान गयो । यो कस्ले जिम्मा लिन्छ ?’
टिप्पणीहरू