धामी एमाले प्रवेश गरेको २ दिनमै काँग्रेसमा फिर्ता

धामी एमाले प्रवेश गरेको २ दिनमै काँग्रेसमा फिर्ता

दार्चुलाको ब्यास गाउँपालिकाका नेता नविन धामी एमाले प्रवेश गरेको दुई दिनमै पुनः आफ्नै पार्टी काँग्रेसमै फर्किएका छन् ।

गत शुक्रवार दार्चुलाको एक होटलमा आयोजित कार्यक्रममा एमाले प्रवेश गरेका उनले हिजो विज्ञप्ति निकाल्दै काँग्रेसमा फर्किएको बताएका हुन् । उनले एमाले प्रवेश गर्नु आवेशमा विवेक गुमाएपछिको अकल्पनीय घटना भएको अर्थ लगाएका छन् ।

नेपाली काँग्रेसको क्रियाशील सदस्य हुँदै नेविसंघ व्यास गाउँपालिकाको संयोजकसमेत रहेका धामीले गत बैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा आफ्नो वडा र गाउँपालिकामा काँग्रेसलाई जिताउन महत्वपूर्ण भूमिका खेलेको दाबी गरेका छन् ।

‘आफूप्रति आफ्नै पार्टीका साथीहरुले गैरजिम्मेवार अभिव्यक्ति दिएको कारण आक्रोशमा एमाले प्रवेश गर्ने मानसिकता बनाई आफूहरुले सो कदम चालेको तर मन भने काँग्रेस नै छ,’ उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

टिप्पणीहरू