नो नट अगेन

नो नट अगेन

चुनाव भएपछि त्यहाँ पक्ष र विपक्ष त हुने नै भयो । बिना पक्ष र विपक्ष चुनाव कसरी हुन्छ ? त्यसमाथि डेमोक्रेसी छ । पक्ष र विपक्ष त अनिवार्य नै हुन्छ । अब जहाँ पक्ष र विपक्ष छ, त्यहाँ वाद र विवाद पनि हुने नै भयो । जहाँ वाद र विवाद छ, त्यहाँ मत र भेद पनि हुने नै भयो ।

अहिलेको चुनाव पनि त्यस्तै भएको छ । पक्ष र विपक्ष छ । वाद र विवाद छ । अनि मत र भेद पनि छ । हरेक कुरामा मतभेद छ । पक्षले जे ठीक भन्छ, विपक्षले त्यसलाई बेठीक भन्नै पर्ने । पक्षले जे राम्रो भन्छ, विपक्षले त्यसलाई नराम्रो भन्नै पर्ने । पक्षले जे सेतो भन्छ, विपक्षले त्यसलाई कालो भन्नै पर्ने । पक्ष र विपक्ष भनेको यस्तो हुन्छ । केही पनि कुरा मिल्दैन ।

हुनुपर्ने यस्तो हो । तर अहिले एउटा कुरामा भने अचम्म भएको छ । पक्षले विरोध गरेको छ, विपक्षले पनि विरोधै गरेको छ । पक्षले अस्वीकार गरेको छ, विपक्षीले पनि अस्वीकारै गरेको छ । पक्ष र विपक्ष एउटै ठाउँ आएर उभिएको छ । त्यो हो ‘नो नट अगेन’ अभियान । बूढाखाडा नेताहरूलाई हराऔं भन्ने अभियान जो शुरु भयो, त्यसको विरोधमा अहिले पक्ष र विपक्ष एक ढिक्का छन् । पक्ष हुन्न भन्छ, विपक्ष पनि हुन्न भन्छ । पक्ष र विपक्षको एउटै मत छ । के डेमोक्रेसीमा यस्तो पनि हुन्छ ?

टिप्पणीहरू