भाषा र धर्मलाई के सक्थ्यो रोक्न राजनीतिक सीमाले ?
हिजो गुरु नानक जयन्तीको दिन । शिख धर्मावलम्बीहरुको निकै महत्वपूर्ण पर्व । भारतीय पञ्जाबमा रहेको अमृतसर उनीहरुको निम्ति सबैभन्दा ठूलो तीर्थस्थल । त्यसैगरी पाकिस्तानमा रहेका कतिपय स्थानमा पनि भारतीय शिखहरु यो अवसरमा उता जाने गर्छन् ।
हिजो पाकिस्तानी भूमिमा आयोजित गुरुपुरब पर्वमा सहभागी हुन नानकाना साहिबमा भारतीय शिखहरुको एउटा टोली गएको छ । शिख धर्मगुरु नानक देवको ५ सय ५३ औं जन्मजयन्ती मनाउन भारतीय शिख जथा (तीर्थयात्रीहरुको समूह) पाकिस्तान पुगेको हो । यो जयन्ती गत आइतबारदेखि शुरु भएको र आगामी मंगलबारसम्म मनाइन्छ ।
पाकिस्तानस्थित भारतीय उच्चायोगका कर्मचारीले उक्त भ्रमणको समन्वय गरेको बताइन्छ । यसको लागि नयाँ दिल्लीमा रहेको पाकिस्तान उच्चायोगले झण्डै तीन हजार भारतीय शिख तीर्थयात्रीहरुलाई प्रवेशाज्ञा (भीसा) दिएको जनाएको छ । ती तीर्थयात्रीहरु बागा बोर्डर हुँदै पाकिस्तान गएका हुन् ।
उनीहरुले सात दिनमा गुरुद्वारा जनम आस्थान, गुरुद्वारा पञ्जा साहिब, गुरुद्वारा डेरा साहिब, गुरुद्वारा दरबार साहिब कर्तारपुर र गुरुद्वारा रोरी साहिबको भ्रमण गर्नेछन् । त्यसमध्ये हिजो गुरुद्वारा जनम आस्थान, नान्नकाना साहिबमा आयोजित भोग अखण्ड पाथ साहिब कार्यक्रम सबैभन्दा महत्वपूर्ण थियो । अधिकांश यात्री हिजोको सो कार्यक्रममा उपस्थित थिए ।


टिप्पणीहरू