ताप्लेजुङमा हिजो रआज सुशासनको प्रवचन
-कमल भट्टराई
ताप्लेजुङका स्थानीय तहका कर्मचारीलाई सुशासनबारे पढाइएको छ । जिल्ला समन्वय समिति ताप्लेजुङको आयोजनामा स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्न र स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन सम्बन्धी दुई दिने अनुशिक्षण कार्यक्रमको आयोजना गरिएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामाले हिजो उद्घाटन गर्नुभएको कार्यक्रम आजसम्म चल्नेछ । कार्यक्रमका प्रशिक्षक तथा प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान झापाका स्थानीय शासनविज्ञ अनिता गुरागाईले संस्थागत क्षमता विकासको निम्ति कार्यक्रम आयोजना गरिएको जानकारी दिइन् ।
उनले नियमित मूल्याङ्कन कार्यले स्थानीय तहको कार्य प्रक्रिया र उपलब्धिका बारेमा लेखाजोखा गरेर सबल र दुर्बल पक्षको पहिचान गरी कमजोरी पक्षलाई हटाउँदै समाजलाई सुशासनको अनुभूत गराउन सकिनेबारे सहभागीहरुलाई जानकारी गराईंदैछ ।
स्थानीय तहको क्षमता विकास र स्वमूल्याङ्कनका लागि आवश्यक पर्ने बजेट नेपाल सरकारबाट २४ प्रतिशत र दातृनिकायहरुबाट ७६ प्रतिशत प्राप्त हुँदै आएको छ । यस कार्यक्रमबाट स्थानीय, प्रदेश र संघ सरकारहरुका नीतिनियम र कानून निर्माणमा सहयोग पुग्ने भएकाले त्यसको कार्यान्वयन पक्षमा दातृ निकायहरु सहयोगी बन्दै आएको बताइन्छ ।
उनीहरुले विभिन्न योजना निर्माण र राजश्वलगायत आर्थिक नीति नियममासमेत आवश्यक सहयोग गर्दै आएको कार्यक्रममा जानकारी दिइएको छ । क्षमता विकास र स्वमूल्याङ्कन कार्यक्रमले नीतिगत रुपमा निर्णय र त्यसको कार्यान्वयन, शीर्षकबमोजिम खर्च, मापदण्ड अनुसार काम, पारदर्शिता, सुशासन, कार्यसफलता, जिम्मेवारी वहन, परिणाममुखी काम, समावेशीता, भ्रष्टाचार न्यूनीकरण, बेरुजुमा कमी ल्याउने सरकारका लक्ष्य र उद्देश्य पूरा गर्न स्थानीय, प्रदेश र संघीय सरकारलाई सहयोग गरेको बताइन्छ ।
यी कामका लागि तीनवटै सरकारका जनप्रतितिधि र कर्मचारीहरुलाई तालिम, गोष्ठी, सेमिनार, प्रशिक्षण, अनुशिक्षण दिँदै कार्यक्रमलाई परिणाममुखि बनाउन खोजिएको बताइएको छ । कार्यक्रममा फुङलिङ नगरपालिकासहित नौ वटै स्थानीय निकायका कर्मचारीहरु सहभागी भएको जिल्ला समन्वय समिति ताप्लेजुङले जनाएको छ ।
टिप्पणीहरू