चुनावकै लागि मर्नु आवश्यकता थियो ?
– जानुका धमला
यो महिना नेपालमा चुनावी जात्रा शुरु भएको छ । नेताहरूको झुट र सम्मोहनको बाणीले फेरि गाउँ शहर भरिन थालेको छ । देशलाई मंसिर ४ ले झपक्कै छोपिसकेको छ । जनता खेतबारीमा हाल्ने मल नपाएर छट्पटाइरहेका छन् । जितेर गएको ५ वर्षपछि बल्ल जनता खोज्न आए नेताहरु भोटका लागि । एकाध अनुहार मात्रै हो नयाँ नत्र अधिकांश तेहेरिएर वा चौथो पटक बिटुलो अनुहार सहित मैदानमा छन् । यसै सिलसिलामा भिषण युद्धको पाटो पनि जोडाँै, वर्गीय मुक्तिको सपना देख्ने एउटा पात्र म स्वयं पनि समृद्धि ल्याउनुपर्छ भनेर युद्धमोर्चामा बिलाएका सहयोद्धाहरूका सपना कहाँ खोजेर पाइन्छ होला भनेर घोत्लन्छु, एकान्ततिर टोलाउँछु । सरकारको नकार पाटोलाई केलायो– मेरा सहयोद्धाले चिहानबाट चिच्याएजस्तो आभाब हुन्छ ।
यसपटक पनि सबै राजनीतिक पार्टीको घोषणापत्रमा चिहानको कुनै कथा समेटिएन । घोषणापत्र पढ्दा नेपालमा समृद्धि आइसकेको छ । घोषणापत्रका वाचा एकतिहाई मात्रै लागु गर्ने हो भने पनि नेपालमा विकासको ढोका धेरै नै खुलिसकेको हुन्थ्यो । सत्ता गठबन्धनको जोड घटाउमा लागेका नेतालाई यस्ता कुराले कहिले दुखेको थियो र दुख्छ ? राम्रो काम गरेकाहरू दोहोरिँदा त के नै फरक पर्छ र ? तर, लाचारहरूको पटक–पटक संसद भवनमा उपस्थितिले चाहिँ देश नै लजाउने अवस्थामा पुग्दोरहेछ । देश गरिबीको भुमरीमा फसिरहँदा समेत जबसम्म बा, म र छोरा छोरीले एउटै मान्छेलाई भोट हाल्ने मनोरोग रहन्छ तबसम्म न राजनीतिमा पुस्ता हस्तान्तरण हुन्छ न त नयाँ योजना भएका नेताहरूको उदय नै !
चुनावदेखि चुनावसम्म मात्रैको यो तामझामले जनतामा खासै उत्सुकता पैदा भएको चाहिँ पाइएन । जनता सधैं रोडमा, नेता करोडमा । ०५२ सालमा अवस्था परिवर्तनको लागि भएको युद्ध वा राज्य सत्तासँगको विद्रोह जनता झन् गरिब र नेता मात्रै धनी किन बनायो ? यो चुनावले चाहिँ साँच्चै जनताको जीवनस्तरलाई समृद्ध बनाउँछ भन्ने ग्यारेन्टी के छ ? बम, गोली पचाएर, सडकमा कुहिएर मरेका बाहेक १८ हजार पूर्व जनमुक्ति सेनाका सदस्यहरू कहाँ होलान् अहिले ? यो चुनावसम्म आइपुग्दा तिनीहरूको नाफामा बाँचेको जीवनले के अनुभूति गर्दै होला ? मैले वर्गीय मुक्तिको आवाज बुलन्द गर्दा भनेका थिएँ– अब यो देशमा सामन्ती राज्यसत्ताको अवशेष अन्त्यसँगै तपाई जनता, म र हामी सबैको आर्थिक अवस्था फेरिनेछ । हामी मर्न तयार छौँ फेरि पनि झुक्ने छैनौं !
यो नझुक्ने कुरा कमाण्डरले मलाई सिकाएका थिए । मैले पनि मेरा सदस्यहरूलाई गद्दारीभन्दा मृत्यु स्वीकार्य छ भनेर सिकाएकै हुँ । म साँच्चिकै झुकिन तर हिजो वर्गीय मुक्तिको कुरा गर्ने मेरा कमाण्डरहरू आज कहाँ झुके ? यही मंसिर ४ मा झुके वा संसदीय भासमा उठ्नै नसक्ने गरी भासिए ? संसदीय भासमा भासिनकै लागि थियो त त्यो १० वर्षे जनयुद्ध ? चुनावदेखि चुनावसम्मकोलाई मात्रै थियो त्यो बलिदानको यात्रा ? यही अवस्थाको कल्पनाले हो देशले १० वर्षे जनयुद्ध, ०६२/६३ को जनआन्दोलन र मधेस आन्दोलन भोग्नुपरेको ? जनयुद्धलाई अपराधीकरण गर्न उद्यत केही १७ हजारको हत्यारा भनेर माओवादी पार्टीलाई जबर्जस्त यहाँ हत्यारा सावित गर्न उद्यत भइरहँदा १७ हजारको जिम्मा यहाँहरूले चाहिँ लिनु नपर्ने हो ?
सरकारलाई, अर्को सरकार बनाउनु छ । दुई महिनामा, चार करोड मतपत्र छापेर गाउँ–गाउँ पठाउन उर्दी जारी भएको छ । तर सरकारले एक वर्षमा ५० लाख किताब छापेर पठाउन सकेन र एउटा बालक मतदान केन्द्र रहेको आफ्नै विद्यालयको फोहोरको थुप्रोमा थोत्रे मतपत्र खोजेर पढिरहेछ । क बाट कम्युनिष्ट, कांग्रेसी ठीक यही बेला उसकी आमाले सिकाइन् अ बाट अरब मैले उसको आमालाई भनेँ आ बाट आन्दोलन, यस्तै अंशको प्रतिनिधित्व गर्छ मेरो कलमहरूले । यो चुनाव प्रचार प्रसारका बेला ग्रामीण भेगमा देखिएको कुरुप दृश्य ।
खुवालुङजस्तो अटल मेरो मुटु आराले काट्यो । देशजस्तै मेरो पैतालाले आरनमा पोल्यो । अब कुन आ ले आकार लिन्छ र यो देश आफ्नो होला नानी ? यही बेला, एक हुल मान्छे जिन्दावाद र मूर्दावादको नारा लगाउँदै आए, ठूला मिडिया हाउसबाट ब्रेकिङ समाचार बन्यो, मानेभन्ज्याङको रेडियोले भन्यो– शहीदको सपना पूरा गर्न सरकारले अर्को चुनावको घोषणा ग¥यो, यहाँ यस्तै–यस्तै भएको छ । आमा भन्दै आमा–छोरा शहीद गाउँको गोरेटो निगालोको झ्याङ समाउँदै ओरालो लागे । राजनीतिमा विचार, सिद्धान्त, त्याग र समर्पण योगदानभन्दा पनि चाकडी र चाप्लुसी, नातावाद र क्रिपावादले सर्लक्क निलिसक्यो । आजको राजनीतिक यथार्थ । इति श्री कन्दपुराणे नेता नेती खण्डे महत्वगन्धे राजनीतिज्ञ स्वाहा भन्ने दिन पनि टाढा छैनजस्तो लाग्छ ।
समृद्धि त्यसै आउने कुरा होइन, आत्मनिर्भर अर्थतन्त्रलाई जोड दिएर देश विकासको लागि समृद्धिका सपना देख्ने नेतृत्वको आवश्यकता छ नेपालको राजनीतिमा । नयाँ पुस्ताले हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने र पुरानो पुस्ताले सम्मानपूर्वक अभिभावकको भूमिका निर्वाह गर्ने कुराले नै देश र जनताको भलो हुन्छ । जय चुनाव ! योभन्दा बढी के लेखौँ !
टिप्पणीहरू