पाँच वर्षमा धेरै काम पूरा हुनेछन् : यमनारायण शर्मा पोखरेल, अध्यक्ष, गढवा गाउँपालिका
स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ महिना बितिसकेको छ । सबै जनप्रतिनिधिहरुले आ–आफ्ना जिम्मेवारी सम्हालेर काम अघि बढाइसकेका छन् । प्राकृतिक सौन्दर्यताले भरिएको दाङको गढवा गाउँपालिका अझै पनि शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधारलगायतका क्षेत्रमा पछाडि छ । गाउँपालिकामा भएका चुनौती र आगामी कार्ययोजनाका विषयलाई लिएर नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा निर्वाचित यमनारायण शर्मा पोखरेलसँग जनआस्थाकर्मी अनुषा थापाले गरेको कुराकानीः
गाउँपालिका अध्यक्ष भएर काम गर्न पाउँदा कस्तो अनुभव भइरहेको छ ?
– म विगत धेरै वर्षदेखि राजनीतिमा लागेको व्यक्ति हुँ । त्यसैले, मलाई त्यस्तो केही नौलोचाहि लागेन । जनप्रतिनिधि भइसकेपछि केही जिम्मेवारीचाँहि स्वतः बढ्दो रहेछ । स्थानीयको आशा अपेक्षाचाहि धेरै तर पालिकासँग स्रोतसाधन कम भएको हुनाले सोचेअनुरुप काम गर्न भने गाह्रो हुँदो रहेछ । जे होस् यसलाई एउटा अवसरको रुपमा लिएको छु । आफू र आफ्नो टिमले सक्दो कोशिस गरेर भएका समस्या हल गर्नतिर लागिपरेका छौं ।
गाउँपालिकाभित्र विकास निर्माणमा के–के चुनौती छन् र त्यसको समाधान गर्न के गरिरहनुभएको छ ?
–गढवा गाउँपालिकामा विकास निर्माणका कामहरु धेरै जटिल छन् । खहरे खोला र चुरे पहाडका कारण भौतिक पूर्वाधार निर्माणमा सकस परेको छ । बर्खाको समयमा बस्तीमा बाढी पस्छ । यसबाट धेरै जनधनको क्षति हुने गरेको छ । दिगो भौतिक आयोजना ल्याउनुपर्ने देखिन्छ । हाम्रो ठूलो समस्या र चुनौती भनेको राप्ती नदीको तटबन्ध र खहरे खोला नियन्त्रण हो ।
राप्ती नदीले हरेक वर्ष धेरै जमिन कटान गर्ने गरेको छ । यसका लागि गाउँपालिकाले विभिन्न कार्ययोजना ल्याएको छ । स्थानीय सरकारको मात्र स्रोतसाधनले यो पर्याप्त नहुने रहेछ । हाम्रो टिमले प्रदेश सरकारसंग समन्वय गरिरहेको छ । चुरेलाई संरक्षण गर्न ‘राष्ट्रपति चुरे संरक्षण’ कार्यक्रम अघि बढाएका छौं ।
राप्ती नदी तटबन्धका लागि ‘जनताको तटबन्ध’ भन्ने कार्यक्रम छ । यी निकायसँग सहकार्य गरेर खहरे खोला र राप्ती नदीलाई नियन्त्रण गर्ने योजना बनाएका छौं । केही वर्षमै हाम्रो टिमले यो समस्या समाधान गर्छ भन्ने अपेक्षा राखेको छु ।
विगत ६ महिनाको अवधिमा गाउँपालिकाभित्र के–के परिवर्तन भए ?
–मैले खासगरी तीन वटा विषयमा केन्द्रित रहेर काम अघि बढाएको छु । शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा बढी फोकस गरेको छु । शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्छ भन्ने मेरो मान्यता हो । आधारभूत स्वास्थ्यको दायित्व स्थानीय सरकारलाई भनेपछि यो क्षेत्रमा पनि केही गर्नुपर्छ भन्ने लागेको छ । गढवा गाउँपालिकाका अधिकांश स्थानीय कृषि पेशामा आवद्ध भएकाले उनीहरुलाई कृषिमा आत्मनिर्भर बनाउने सोच राखेको छु । सबै परिवर्तन एकैचोटी हुँदैन, चरणबद्धरुपमा अघि बढिनेछ ।
शिक्षालाई प्राथमिकतामा राख्नुभएको छ तर सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घट्दो क्रममा देखिन्छ नि ?
–पहिलो कुरा त सामुदायिक विद्यालयको शिक्षामा गुणस्तर र भौतिक पूर्वाधारमा समस्या छ । शिक्षकहरुको दरबन्दी पनि पर्याप्त छैन । गाउँपालिकाको आन्तरिक स्रोतले पर्याप्त दरबन्दी राख्ने सक्ने अवस्था छैन । शिक्षा क्षेत्रमा केन्द्रबाटै स्पष्ट नीति नहुँदा धेरै सकस छ । माध्यमिक तहसम्मको जिम्मा स्थानीय सरकारलाई भनेपनि त्यो लागु हुन सकेको छैन ।
शिक्षक बढुवा र सरुवाको अधिकार अहिलेसम्म संघीय सरकारसँगै छ । हुन त हामी संघीयताकै अभ्यासमा छौं तर कतिपय जिम्मेवारी स्पष्ट नहुँदा कामकाजमा केही समस्या उत्पन्न भइरहेको छ । गुणस्तर शिक्षा अभिवृद्धिको योजना बनिसकेको छ, अब कार्यान्वयनमा लैजान्छौं । आधारभूत कक्षामा विद्यार्थीको संख्या घट्दो क्रममा देखिन्छ ।
तलबाट उकास्न नसक्दासम्म माथिल्लो कक्षामा सुधार ल्याउन सकिँदैन । यसका लागि शिक्षा विज्ञहरुसँग पनि परामर्श लिइरहेका छौं । समग्रमा भन्नुपर्दा शिक्षा क्षेत्रमा धेरै समस्या छ । यसको सुधारको निम्ति शिक्षक र प्रधानाध्यापकहरुको क्षमता अभिवृद्धि गर्नुपर्ने देखिएको छ । अभिभावकहरुसँग अन्तरक्रिया गरेर राय लिने तयारीमा छौं । एउटा इच्छाशक्तिसहित शिक्षा क्षेत्रमा सुधार ल्याउँछौ भनेर लागिपरेका छौं ।
पालिकाका अधिकांश शिक्षकहरु राजनीतिमा लागेको स्थानीयहरुको आरोप छ नि ?
–यो समस्या यहाँ मात्र नभएर देशभरका सामुदायिक विद्यालयहरुमा यथावत् छ । गढवा गाउँपालिकामा पनि त्यो देखिएको छ । स्थानीयमा मात्र नभएर केन्द्रबाटै शिक्षकहरु राजनीतिमा आबद्ध हुँदा शैक्षिक क्षेत्रको गुणस्तर खस्किँदै गएको हो । यसलाई मध्यनजर गर्दै हामीले सबै प्रधानाध्यापक र शिक्षकसँग कार्य सम्पादनमा करार सम्झौता लागू गर्ने निर्णय गरेका छौं । सम्झौताअनुरुप काम भएको छ कि छैन, मूल्याङ्न गर्ने योजना बनाएका छौं । कक्षा संख्या बढाइरहेका छौं तर पनि त्यसको नतिजा सन्तोषजनक आएको छैन । शिक्षकहरुलाई पटक पटक राजनीतिमा नलाग्न भन्दै आएका छौं, अब थप कडाइ गर्ने तयारी छ ।
स्वास्थ्य क्षेत्रको अवस्था कस्तो छ ? स्थानीयहरुमा स्वास्थ्य सेवाको पहुँच कतिको छ ?
–स्वास्थ्य क्षेत्रमा हामीलाई एक किसिमको आत्मविश्वास पैदा भएको छ । शिक्षा क्षेत्रमा जस्तो कडा मेहनत स्वास्थ्य क्षेत्रमा गर्नुपर्छ जस्तो मलाई लाग्दैन । स्वास्थ्यमा केही नयाँ कामहरु पनि भएका छन् । गढवा गाउँपालिकाका स्वास्थ्य चौकीहरुमा सेवावृद्धि र स्तरवृद्धि गर्ने भनेर कार्यक्रम अगाडि बढाएका छौं । दुई वटा स्वास्थ्य चौकीमा २४ घण्टे आकस्मिक सेवा शुरु गर्ने सोच बनाएका छौैं । बजेट विनियोजन भइसकेको छ । अब स्वास्थ्यकर्मीको संख्यावृद्धि गर्ने तयारी छ । अहिले गाउँपालिकामा एक जना एमबिबिएस डाक्टर हुनुहुन्छ । एक जना थप गर्ने गाउँपालिकाको सोच छ ।
प्रत्येक स्वास्थ्य इकाइमा ल्याबको व्यवस्था गर्दैछौं । सबै वडामा आधारभूत स्वास्थ्य इकाइ छ, चार वटा स्वास्थ्य चौकीमा पहिलेदेखि नै ल्याब छ । अरुमा पनि थप गर्ने योजना छ । प्रदेश सरकारसँग समन्वय गरेर अल्ट्रासाउण्ड कार्यक्रम अघि बढाएका छौं । यो गर्न सकियो भने गर्भवती महिलाहरुलाई धेरै सहज हुन्छ । मोतीबिन्दु लागेकालाई निःशुल्क शल्यक्रिया गरिदिने काम पनि अघि बढेको छ । अपाङ्ग, अशक्त बिरामीलाई घरमै गएर उपचार दिने प्रक्रिया पनि अघि बढाएका छौं । यो आर्थिक वर्षमा स्वास्थ्यसम्बन्धी शिविरहरु पनि सञ्चालन गर्ने छौं ।
यहाँ उत्पादन भएका खाद्यबालीले बजार नपाएको कृषकहरुको गुनासो छ । कृषिलाई बजारीकरण गर्ने केही योजना बनेको छ ?
–गढवा गाउँपालिका कृषिमै आधारित गाउँपालिका हो । यहाँ अरु रोजगारीको क्षेत्र निकै कम छ । स्थानीयहरु कृषिमै आश्रित छन् । तरकारी उत्पादनको सम्भावना गढवामा छ । कृषकहरुको जीवनस्तर उकास्नका लागि गाउँपालिकाले विभिन्न कार्यक्रम अघि सारेको छ । बीऊबिजन, मेसिनरीलगायत सामग्रीहरु अनुदानमा बाँडिरहेका छौं । कृषिलाई व्यवसायीकरण र आधुनिकीकरण गर्न कृषकहरुलाई प्रोत्साहन गरिरहेका छौं ।
बजारीकरणको समस्या यहाँ अलिक जटिल नै छ । किसानहरुले उत्पादन गरिरहनुभएको छ तर भौतिक पूर्वाधार नहुँदा बजारसम्म लैजान सक्ने अवस्था छैन । उब्जाएको तरकारी कहिलेकाँही खेर फाल्नुपर्ने हुन्छ । चालु आवमा कृषि एम्बुलेन्स सञ्चालनमा ल्याउने तयारी थालेका छौं । कृषिजन्य उपज संकलन केन्द्र पनि छिटै नै सञ्चालनमा ल्याइनेछ ।
विकास निर्माणका के–के काम अघि बढेको छ ?
–हाल पालिकाभित्र धेरै विकासका कामहरु अगाडि बढाइएको छ । मुख्य हुलाकी राजमार्ग निर्माणधीन अवस्थामा छ, पिच हुन मात्र बाँकी छ । ठेकेदारको लापरवाहीका कारण अलिक ढिलासुस्ती भएको हो । हामीले निरन्तर झक्झकाइरहेका छौं, आगामी वर्षसम्म यो काम सम्पन्न हुने अपेक्षा राखेका छौं । खहरे खोलाहरुमा पुल बनाउन बाँकी छ । बड्कापत सिँचाई आयोजना त्यसपछिको सबैभन्दा ठूलो हो । यो सफल भयो भने कृषि क्षेत्रमा ठूलै कायापलट हुन्छ ।
अधिकांश स्थानमा सरकारी जग्गा मिचेको पाइन्छ । त्यसलाई सरकारकै मातहतमा ल्याउन के–कस्ता योजना बनाउनुभएको छ ?
–सरकारी जग्गाहरु मिचेकै अवस्थामा छ । यसलाई संरक्षण गर्न हामीले पहल गरिरहेका छौं । व्यक्तिले कब्जा गरेको जग्गा कार्ययोजना बनाएर मात्र फिर्ता ल्याउँछौं । अन्यथा समाजमा त्यही खालको द्वन्द्व र झगडाबाहेक अरु केही हुँदैन । राष्ट्रिय भूमि आयोगले बनाएको भूमि ऐन, सुकुम्बासीको पहिचान र अव्यवस्थित बसोबासीहरुको समस्या समाधान गर्ने नीतिबाट यो समस्या समाधान हुन्छ भन्नेमा म विश्वस्त छु ।
स्थानीयले तपाईबाट के अपेक्षा राखेका छन् जस्तो लाग्छ ?
–मबाट स्थानीयबासीले धेरै अपेक्षा राख्नुभएको छ । विशेषतः दुई तीन वटा कुरामा उहाँहरुले धेरै नै आश राख्नुभएको छ । युवाहरुले रोजगारीको धेरै अपेक्षा गर्नुभएको छ । रोजगारीको कुरा गर्ने हो भने कृषिबाहेक अन्य क्षेत्र छैनन् । उद्योग, कलकारखाना नभएकाले अलिक समस्या नै छ । युवाहरुलाई कृषिमा नै स्वःरोजगार बनाउने योजना छ ।
गाउँपालिका अध्यक्ष भएपछि स्थानीयबासीले महशुस गर्ने गरी के–के काम गर्नुभयो ?
–म गाउँपालिका अध्यक्ष भएपछि धेरै काम अघि बढेका छन् । गढवा गाउँपालिका प्राकृतिक हिसाबले धनी छ । विगतमा राप्ती नदीबाट धेरै चोरी निकासी हुने गर्दथ्यो । यो वर्षदेखि हामीले त्यसलाई व्यवस्थित गरेका छौं । गाउँपालिकाले नै राजस्व संकलन गर्न थालेको छ । स्थानीयले गाउँपालिकाको यो निर्णयमा समर्थन जनाउनुभएको छ । प्रयास जारी छ, पाँच वर्षमा धेरै काम पूरा हुन्छ ।
टिप्पणीहरू