एमाले पदाधिकारीमा पूर्वका आकांक्षी धेरै

एमाले पदाधिकारीमा पूर्वका आकांक्षी धेरै

नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन नजिकिएसँगै कोशी–प्रदेश केन्द्रित नेताहरूमध्ये धेरैले पदाधिकारीमा दाबी गर्न थालेका छन्। अध्यक्ष केपी शर्मा ओलीकै गृह प्रदेश भएकाले सचिवदेखि उपमहासचिव, उपाध्यक्षसम्मको दौडमा पूर्वका नेता अगाडि रहेको बताइन्छ ।

अध्यक्ष शर्मा निकटस्थ भनेर चिनिएका स्थायी कमिटी सदस्य तथा पूर्वमुख्यमन्त्री भीम आचार्य, पूर्वमुख्यमन्त्री शेरधन राई, मुख्यमन्त्री हिक्मत कार्की, स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, राजेन्द्र गौतम, लालबाबु पण्डित, अग्नि खरेल, पोलिटब्युरो सदस्य तिलकुमार मेन्याङ्बो, केन्द्रीय सदस्य जीवन घिमिरेलगायत एक दर्जनभन्दा बढी नेता सचिव पदका आकांक्षी देखिन्छन्।

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहबाट केन्द्रीय सल्लाहकार विनोद ढकाल मजबूत प्रतिस्पर्धीका रूपमा अघि आएका छन्। विद्यार्थी राजनीतिदेखि पार्टी संरचनासम्म लामो समय सक्रिय ढकाललाई ‘पूर्वको सबैभन्दा चर्चित दाबेदार’ मानिएको छ।

पदाधिकारी संख्या १९ बाट घटाएर १५ बनाइएको र उमेरहद तथा कार्यकाल सीमा हटाइएपछि एमालेभित्रको प्रतिस्पर्धा रोचक बन्ने निश्चित छ। महाधिवेशनले अध्यक्ष, तीन उपाध्यक्ष, महासचिव, तीन उपमहासचिव र सात सचिवसहित २५१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ ।

टिप्पणीहरू