रवि लामिछानेको गाडी तोडफोडको विषय लेनदेनमा गुपचुप

रवि लामिछानेको गाडी तोडफोडको विषय लेनदेनमा गुपचुप

विगत केही दिनदेखि चितवनका थुप्रै ठाँउमा प्रचार प्रसारको क्रममा एमाले र स्वतन्त्र पार्टीका कार्यकर्ताहरु सँगसँगै देखिन्थे । उनीहरुले एक अर्कासँग भोट पनि मागेको देखिन्थ्यो । तर उनीहरुले कहिल्यै दुर्वाच्य प्रयोग नगरेको बताउँछन्  । 

स्वतन्त्र पार्टीका रवि लामिछानेले आफ्नो प्रतिस्पर्धी एमालेलाई ठानेका थिए । तर गत आइतबार इच्छाकामना गाउँपालिकाको घरदैलो गर्ने क्रममा गठबन्धनका उम्मेदवार उमेश श्रेष्ठ र घनश्याम दाहाल, काँग्रेस चितवनका पूर्व सभापति जीतनारायण श्रेष्ठसहितको टोलीले कुरिनटारमा एमालेका कार्यकर्तासँग पनि लफडा झिक्न खोजेको आरोप लागेको छ । 

झण्डै चार सयको हाराहारीमा रहेका नेपाली काँग्रेस तथा गठबन्धनका टोली मुग्लिन पुग्दा काँग्रेसकै पुराना कार्यकर्ता गोपाल गुरुङले रवि लामिछानेको समर्थनमा घण्टी बजाइदिए । जीतनारायणसँग भनाभन त्यहि बारेमा भएको थियो । 

मुग्लिनबाट कुरिनटारतर्फ लागेको रवि लामिछानेको टोली मत माग्दै इच्छाकामाना–४ लेवटारस्थित ब्याम्बो कटेज नजिकै पुग्दा वाइसीएल इच्छाकामनाका इञ्चार्ज पवन गुरुङले काँग्रेसबाट निर्वाचित तत्कालीन दारेचोक गाविसका अध्यक्ष विष्णु लामाका भाइ कान्छा लामाले चलाएको बा. १४ च ७६८४ नम्बरको रातो गाडी तोडफोड गरेका घण्टीका समर्थक तथा कार्यकर्ताले बताएका छन् । 

तोडफोड भएको गाडीदेखि दुई गाडि फरकमा थिए रवि लामिछाने । तोडफोड भएको सवारी साधनको अगाडि नै थियो जीतनारायणको टोली । आक्रमणको समयमा सँगै भएर पनि प्रहरी मुकदर्शक बनेको रविका समर्थक प्रकाश सिलवालको आरोप छ । झडपमा रविका दुई कार्यकर्ता पनि घाइते भएको उनी बताउँछन् ।

आक्रमणकारीविरुद्ध उजुरी गर्ने भनिए पनि पीडित पक्षले उजुरी नगरी गाडी क्षतिपूर्तिमा कुरा मिलेको छ । सवारी धनी र गठबन्धनका नेता तथा माओवादीका बागमती प्रदेश कमिटी सदस्य प्रताप गुरुङ, काँग्रेस इच्छाकामनाका सभापति कृतिकुमार श्रेष्ठ, तरुण दलका अध्यक्ष होमप्रसाद सिलवाल, वाइसिएल अध्यक्ष झलक गुरुङ, सवारीधनी मनबहादुर मगरबीच लेनदेनमा सहमति भएको हो । 


आक्रमणकर्ता पवन माओवादी नेता प्रतापका भानिज भएको खुलेको छ । यो घटनाले गठबन्धनलाई इच्छाकामनामा धक्का लाग्ने बताउन थालिएको छ । गठबन्धन र काँग्रेसको सामान्य भूलले घण्टी बजाउनेहरुलाई नसोचेको राजनीतिक माइलेज प्राप्त भएको विश्लेषण गरिएको छ ।

 
अञ्जनकुमार

टिप्पणीहरू