काठमाडौंमा एमालेको खास स्थिति यस्तो छ

काठमाडौंमा एमालेको खास स्थिति यस्तो छ

तपाईको लोकप्रिय पत्रिका जनआस्था साप्ताहिकले जनतालाई निष्पक्ष र तटस्थ रहेर समाचार सम्प्रेषण गरेकोमा धन्यवाद दिन चाहन्छु । जनआस्था सबैले विश्वास गरेको सबैको आस्थाको पत्रिका हो । यसले नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टीलगायत सत्ता गठबन्धनको चुनावी गतिविधि मात्रै नसमेटेर नेपाल कम्युनिष्ट पार्टी (एमाले) को गतिविधिलाई पनि स्थान देओस् । यसको निष्पक्षतालाई अझ प्रखर बनाओस् । हुन त यसले एमालेको गतिविधिलाई पनि यथोचित स्थान दिएकै छ । तैपनि मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा कुनै दलीय स्थार्थभन्दा वामपन्थी दलबीच एकता कायम हुने गरी समाचार सम्प्रेषण गरोस् भन्ने मेरो व्यक्तिगत चाहना प्रकट गर्न चाहन्छु ।

स्व. नवीन्द्रराज जोशीले जितेको, एमाले टुक्रिएपछि १५ नम्बर वडामा नेकपा एसका ईश्वरमान डंगोलले अध्यक्ष जितेका छन् । काठमाडौंको निवौचन क्षेत्र नं. ८ मा शिवसुन्दर वैद्य स्थानीय रूपमा परिचित उम्मेदवार हुन् । जिल्ला समन्वय समितिको सभापति थिए । राजेश शाक्य काष्ठमण्डप पुनर्निर्माण समितिको संयोजक र प्रदेश सभाको उम्मेदवार पनि छन् । जीवनराम श्रेष्ठको प्रभाव भने एमाले उम्मेदवारको भन्दा राम्रो देखिएको छ । यहाँ राप्रपाको बलियो उपस्थिति छ, प्रकाश रिमाल हलो छापमा उठेका छन् । ४ मा राजन भट्टराई र जीवनराम श्रेष्ठको खरो स्वभावका कारण भोट केही कट्न सक्छ ।

स्वतन्त्र उम्मेदवार सुमन सायमीले नजिते पनि सबैजसो दलको भोट काट्ने पक्का छ । विराज भट्टले कांग्रेसको भोट काटिँदै छन् । क्षेत्र नं. ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठले फेरि बाजी मार्न सक्छन्, गठबन्धनको उम्मेदवार कल्पना धमला बलियो भइनन् । १४ नम्बर वडाबाहेक ब्रह्मटोल, लगनलगायत नेवार बाहुल्य भएको इलाकामा धमलालाई कम मत पर्ने सम्भावना छ । निर्वाचन क्षेत्र नम्बर ६ मा एमालेको तर्फबाट उठेका पूर्व आईजिपी सर्वेन्द्र खनाल पकनाजोलमा जन्मेका हुन् ।

खनाललाई ओलीले जोकरको रूपमा फिट गरेको चर्चा चल्न थालेको छ । पूर्व प्रहरी भएकाले बहालवाला र भूतपूर्व सुरक्षाकर्मी सर्वेन्द्र दाइ भन्दै हिँड्लान् तर बग्गीखानादेखि गोंगबु बसपार्कसम्मको इलाकामा खनालले चिनेजानेका पश्चिमेलीको राम्रै संख्या छ । २ नम्बरमा कडा टक्कर देखिन्छ भने निर्वाचन क्षेत्र नं. ५ मा ईश्वर पोखरेलको सम्भावना बढेको छ । उपत्यकाभित्र एमालेको ५ वटा सिट जित्न सक्ने सम्भावना बढेको छ । यही कुरा तपाईंको लोकप्रिय पत्रिकाबाट प्रकाशित गरिदिन हुन अनुरोध छ । 

– कविन्द्र रिमाल, पकनाजोल काठमाडौँ
 

टिप्पणीहरू