यसपटकको चुनाव : रत्नपार्कको भित्तोमाथि फेसबुकको भित्तो निर्मम

यसपटकको चुनाव : रत्नपार्कको भित्तोमाथि फेसबुकको भित्तो निर्मम

अबको ६८ घण्टापछि मुलुकभर आमनिर्वाचनको निम्ति मतदान हुँदैछ । विभिन्न आशंकाको बाबजुद पनि मुलुक निर्वाचनमय भएको छ । निर्वाचन हुने कि नहुने भन्ने आशंका सतप्रतिशत दुर भएकोमा आयोगका पदाधिकारीहरु दङ्ग देखिन्छन् । 

‘मुलुक चुनावमा पूरै होमियो । पहिलेको आशंका दुर भयो । यहि नै खुशीको कुरो हो,’ एक जना आयुक्तले बताए । उम्मेदवारी मनोनयनका दिनदेखि नै मुलुकभर खासै गड्याङगुडुङ नभएकाले सुरक्षा निकाय पनि आजसम्म ढुक्क छ । 

यता स्वतन्त्र तथा केही नयाँ दलका उम्मेदवारहरुले राजनीतिक दलका चर्चित उम्मेदवारलाई निकै चुनौती दिएको खबरहरु आउन थालेका छन् । एकाध निर्वाचन क्षेत्रमा ‘लौ जित्ने भयो’ भन्नेसम्मको खबर उरालिएको छ । स्वतन्त्र र नयाँ दलका ती उम्मेदवारहरुले सामाजिक सञ्जालबाट व्यापक प्रचार गरेका छन् ।

‘उनीहरुले राम्रै भोट ल्याउलान् जस्तो छ,’ जिल्लाका संवाददाताहरुले समेत जोड घटाउ गर्दै भनेका छन् । दलहरुप्रतिको वितृष्णा अहिले लौरो र घण्टी चिन्हको आकर्षणले देखाएको उनीहरुको भनाइ छ । ‘यी दुई वटा चुनाव चिन्ह मिलेको भए उधुम मच्चाउने रहेछन्,’ चितवनका एक जना पत्रकारले भने ।

उनीहरुले आगामी निर्वाचनमा तीन प्रतिशत मत कटाउने छाँटकाँट देखाएको समेत भन्न थालिएको छ । सँगठित कार्यकर्ता नभए पनि ती चिन्ह लिएका अधिकांशले सामाजिक सञ्जालमार्फत प्रचार गरेको पाइन्छ । उनीहरुले डलर तिरेर फेसबुकमा आफ्ना समाचार र प्रचार सामाग्रीलाई बुस्ट गरिरहेका छन् । 

अहिलेको चुनावी ट्रेण्डलाई हेर्दा सामाजिक सञ्जाल शक्तिशाली भएको देखिँदैछ । विगतमा चुनाव भनेको भित्तोलेखन,ठूला तुल र ब्यानर हुन्थे । त्यसैगरी  र्‍याली र माइकिङ पनि सँगसँगै गरिन्थ्यो । तर अहिले फेसबुकको भित्तो रङ्ग्याएर नयाँ दल र स्वतन्त्र उम्मेदवारले दशकौंदेखि जरा गाडेका भनिएका नेताहरुको उम्मेदवारीको औचित्यमाथि प्रश्न चिन्ह तेर्साएका छन् ।

टिप्पणीहरू