एमाले र माओवादी कार्यकर्ताबीच हानाहान, ५ घाइते
नेकपा माओवादी केन्द्र र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ । दुई समूहबीचको घम्साघम्सीमा पाँच जना गम्भीर घाइते भएका छन् । महोत्तरीको रामगोपालपुर नगरपालिकाबाट मदिरा सेवन गरेर सम्सी पुगेका एमाले कार्यकर्ताले पहिले आक्रमण गरेको स्थानीयले बताएका छन् । स्थानीय रामभुषण साहकाअनुसार एमाले कार्यकर्ताको कुटाइबाट पाँच जना घाइते भएका हुन् ।
‘मदिरा सेवन गरेका युवाहरुले भोट एमालेलाई हाल्नुपर्ने धम्की दिँदै आक्रमण गरे’, पीडित अनिल मण्डलले भने । घाइते हुनेमा अनिल मण्डल, रामदरेस मण्डल, रामदूलारी मण्डल, राधिका मण्डल, रायवीर मण्डल रहेका छन् । उनीहरुमध्ये एक जनाको भारतको सीतामाढी र अन्य चार जनाको रामगोपालपुरको स्थानीय चौकीमा उपचार भइरहेको छ ।
विजय यादव, रामवली यादव, अनिल यादव र रामो यादवसहित झण्डै तीन दर्जन युवाको समूहले सम्सी प्रवेश गरेर कुटपिट गरेको स्थानीयहरुले बताएका छन् । एमाले जिल्ला इञ्चार्ज सरोज यादवले घटनाको विषयमा आफू अनभिज्ञ रहेको दाबी गरेका छन् । यता, माओवादीले भने उक्त घटनाको घोर भत्र्सना गरेको छ ।
माओवादीका जिल्ला इञ्चार्ज राजु खड्काले घटना निन्दनीय भएको बताएका छन् । उनले दोषीउपर कडा कारबाही गर्न जोडदार माग गरेका छन् ।
टिप्पणीहरू