अब बुँख्याचाबाट पार लाग्दैन

अब बुँख्याचाबाट पार लाग्दैन

राधाकृष्ण मैनाली, वामपन्थी नेता 

वाम राजनीतिज्ञ राधाकृष्ण मैनाली झापा आन्दोलनका अगुवामध्येका एक हुन् । ०२५ सालमै विद्यार्थी राजनीतिमा उदाएका उनी ०२८ सालको झापा विद्रोहबाट नेपालको राजनीतिक रूपमा परिचित छन् । ०५१ मा मनमोहन अधिकारी नेतृत्वको अल्पमतको सरकारमा हुँदा कृषि तथा भूमिसुधारमन्त्री चलाएका उनी ०५४ स्वास्थ्य मन्त्री, एमाले र माले पार्टी एकीकरण पछि उनी निष्क्रिय बनेका मैनाली ०६१ को शाही कू पश्चात् राजाको शासनकालमा फेरि शिक्षामन्त्री चलाए । नेपालको कम्युनिष्ट आन्दोलन कुतत्वको हातमा पुगेर छिन्नभिन्न हुन पुगेर आन्दोलन हाँक्न नसकेकोप्रति ग्लानि महसुस गर्छन् । पार्टीमा थाहै नपाई गलत चिन्तन बोक्ने मान्छे पस्ने र त्यसलाई सुधार्न नसकिने निष्कर्षमा पुगेका छन् उनी । पार्टी, नेतृत्व र आन्दोलनलाई धारिलो बनाएर लैजाने भन्ने विषय गफ गर्न जति सजिलो छ जीवन, जगतमा उतार्न त्यति कठिन रहेको कारण गलत मान्छे गतल ठाउँमा पुगेर कम्युनिष्ट आन्दोलन तहस–नहस बनाएको र अझै कम्युनिष्ट आन्दोलनले ठूलो क्षति भोग्न बाँकी रहेको ठहर छ । यो पुस्ताका सबै कम्युनिष्ट नेतृत्वलाई केही न केही आरोप लागेका कारण उनीहरूले आन्दोलनको बोक्न नसक्ने उनको निश्कर्ष छ । मैनालीका लुटिएका २ थुँगा फूल’, ‘मेरो अतीतः मेरो सपना’, ‘बन्दी रहर’, ‘नलेखिएको इतिहास’ चर्चित कृतिभित्र पर्छन् । 

– हरि गजुरेल

मंसिर ४ मा हुने चुनाव र पहिलाका चुनावमा के अन्तर देख्नुहुन्छ ?

– कुनै पनि पार्टीको सैद्धान्तिक अडान छैनन् । एमालेको कुम राप्रपासँग, आफूलाई कम्युनिष्ट भन्ने माओवादी र एकीकृत समाजवादी कांग्रेससँग गठबन्धन गरेर चुनाव लड्दै छन् । गत स्थानीय तह निर्वाचनमा झैँ यस पटक पनि धेरै मतदाताले मत बदर गर्ने खतरा छ । सैद्धान्तिक रूपले मतदाता अस्पष्ट छन् । आफूलाई मन परेको उम्मेदवार÷पार्टी वा चिह्नमा भोट खसाल्न नपाउने स्थिति छ । सुपर नेताहरूप्रतिको विकर्षण बढ्दो छ । विकर्षण हुँदा हुँदै पनि विकल्प छैन । चुनावी मतदाताभन्दा दानापानीमा मत हाल्नेको संख्या अहिले पनि धेरै छ ।

जनतामा दलप्रतिको आकर्षण घटेको हो ?

– आकर्षण खत्तमै भएको त भन्दिनँ तर नेताप्रतिको विकर्षण चरमचुलीमा छ । जनताले नेताप्रति विश्वस्त भएर होइन कि विकल्प नभेटेर भोट हालिरहेका छन् । अहिलेको सबैभन्दा ठूलो समस्या भ्रष्टाचार हो । ओली, प्रचण्ड, शेरबहादुर हरेक नेताको भ्रष्टाचारविरोधी चर्काे भाषण गर्छन् तर ओलीकै कार्यकालमा सबैभन्दा बढी भ्रष्टाचार भयो । आफ्नो कार्यकालमा उत्कृष्ट काम गरेको भाषण त गर्छन् ओली तर सत्ता सञ्चालन गर्न नजान्ने लठेब्रो बुद्धिका कारण दुई तिहाइको सरकार तहनहस पार्नुभयो ।

पाँच वर्षअघि झण्डै दुईतिहाइको सरकार बनाउने केपी ओलीको असफलतालाई कसरी लिनुहुन्छ ? 

–ओलीको आफ्नै महत्वाकांक्षा, गोज्याङ्ग्रोपनले दुई तिहाइको सरकार ढल्यो । यसरी आफ्नै बुद्धिले दुई तिहाइको सरकार तहस नहस पार्नेमा नेपाली राजनीतिमा पहिलो भए ओली । ०१५ सालमा राजाको बुद्धिले कांग्रेसको सरकार गएको हो । गिरिजाले पार्टीको दाउपेचमा बहुमतको सरकार गिराएका थिए । ओलीले मलाई मत देऊ, विकास गर्छु भन्ने कुराको महत्व र सार देखिँदैन । निर्वाचनपछि पनि देशमा राजनीतिक स्थायित्व हुँदैन । अन्योलता, नदेखिने हाउगुजीको चर्चा भइरहन्छ । त्यसले राजनीतिक स्थिरतालाई बढाइरहन्छ । 

पाँचदलीय गठबन्धन बनाएर चुनावमा जाँदा पनि राम्रो नतिजा आउने सम्भावना छैन भन्ने यहाँको निष्कर्ष÷विश्लेषण हो ? 

– गठबन्धनमा पनि समस्या छ । मतादाताहरू सचेत भइदिएको भए एउटा दलले अर्काे दलको चुनाव चिह्नमा किन जानुपरेको हो भन्ने खुल्थ्यो तर हामीकहाँका मतदाता सचेत भइसकेका छैनन् । गठबन्धनकै बहुमत पुग्ला तर पार्टीको बहुत पुग्ने देखिँदैन । कुनै पनि दल एक्लैको बहुमत नआउनु नै अस्थिरताको सुरुवात हो । त्यसको संकेत त ओलीले निर्वाचनपछि यो गठबन्धनको नयाँ स्वरूप हुन सक्छ भनेर एक दुई स्थानमा भाषणबाटै गरिसकेका छन् । उनी अहिलेदेखि नै त्यो खेतीमा लागेका छन् । बहुमत नआएको खण्डमा कुन गठबन्धनको कुन दल तान्नुपर्छ भन्ने हिसाब–किताब भइसकेको छ ।

विगतमा जस्तो मतदातामा त्यति धेरै उत्सुकता देखिएजस्तो देखिँदैन । त्यो गठबन्धनकै कारण हो वा अरु केही ? 

– मतादतामा निराशा छ । कुनै नेताप्रतिको आकर्षण छैन । पहिलेको निर्वाचनमा ओलीप्रतिको आकर्षण थियो । एक समय गिरिजाबाबु, मदन भण्डारी, माधव नेपाल, प्रचण्डप्रतिको आकर्षण देखिन्थ्यो समय–समयमा । अहिले कुनै नेताले देशमा रूपान्तरण ल्याउँछ भनेर छान्ने नेता छैनन् । नेताप्रतिको विकर्षण भनेको राजनीतिक रूपमा ठूलो संकट हो । हिजो राजतन्त्रमा राजा छ भन्ने आधारमा देश चलेको थियो । गणतन्त्रमा दलीय सिष्टममा देश चल्ने हो । दल चाहिँदैन भन्ने आवाज त्यति सुनिएको छैन तर दलका नेताको नामै तोकेर हारिदिएदेखि हुन्थ्यो, दोस्रो तेस्रो तहको नेताले जितेर सरकार बनाए हुन्थ्यो भन्ने आकांक्षा धेरै ठाउँमा व्यक्त भएको पाइन्छ । नेताहरू हिरिक्क हिरिक्क भएर घाटमा पुग्ने अवस्थासम्म सत्तामै बस्ने चाहना राख्छन् । अहिले त्यस्ता नेताप्रतिको विकर्षण चर्काे छ । त्यसले नै राजनीतिक निराशा ल्याएको छ । 

अहिले राजनीतिक वृत्तमा जसरी ‘स्वतन्त्र’ गतिविधि गर्दै मूलधारको राजनीतिलाई चुनौती दिने काम भइरहेको छ, यो स्थिति संसदीय प्रणालीका लागि कत्तिको खतरापूर्ण हो ?

– राजनीतिक र वर्गीय आस्थाको आधारले स्वतन्त्र आउँदैनन् । उनीहरू स्वतन्त्र विचार लिएर दलप्रतिको वितृष्णा लिएरै आउने हुन् । दल र दलीय प्रणालीप्रति आस्था हुनेहरूले स्वतन्त्रलाई मत दिँदैनन् । दलीय व्यवस्थाका नेता, दलीय व्यवस्थाप्रति वितृष्णा भएकाहरूले स्वतन्त्रलाई मत दिने हुन् । यो संख्या अलि ठूलो छ । दुई दर्जनभन्दा माथि स्थानबाट मात्र स्वतन्त्र उम्मेदवारले जिते भने यो सिष्टम नै धराशयी हुन्छ । पञ्चायतकालको अन्तिम–अन्तिम समयमा वामपन्थीले जनपक्षीय उम्मेदवार उठेर राष्ट्रिय पञ्चायतमा गएर पञ्चायतविरोधी अवधारणा माथिल्लो उचाइमा पु¥याएका थिए । त्यस्तै स्थिति यहाँ पनि आउन सक्छ । स्वतन्त्र उम्मेदवार अगाडि आए पनि यो सिष्टममा खराबी ल्याउन सक्छन् । दल, दलका नेताप्रतिको वितृष्णाकै कारण यो स्थिति बनेको हो । पहिलेका भन्दा यस पटकको निर्वाचनमा स्वतन्त्र उम्मेदवारप्रतिका मतदाता बढेका छन् यो भनेको दलीय सिष्टमको निम्ति शुभ संकेत होइन । 

चुनावको परिणाम कस्तो अनुमान गर्नुभएको छ ?

– संख्या तोकेर भन्न सकिँदैन । बहुमत कुनै पनि दलको आउँदैन । काँग्रेस, एमाले, माओवादी नै हुन् पहिलो, दोश्रो र तेश्रो हुने । झट्ट हेर्दा ठूलो सिट कांग्रेसले ल्याउँछ भन्ने धेरैतिरको अनुमान छ । दोस्रो र तेस्रोमा एमाले र माओवादीको प्रतिस्पर्धा होला । समानुपातिक प्रणालीले नै कुनै पनि पार्टीले एकल बहुमत नल्याउने गरी बनाइएको छ । गठबन्धन बहुमतको बन्न सक्छ । त्यसले पनि अस्थिरतालाई नै निरन्तरता दिने हो । गठबन्धन दलका नेताहरू सबै महत्वाकांक्षी छन् । हङ पार्लियामेन्ट बन्नु भनेकै अस्थिरता बढ्ने हो । त्यसले मुलुकमा सुशासन होइन, फेरि भ्रष्टाचारको चरमचुलीतिर लैजान्छ । 

ओलीले यसपटक व्यहोर्ने क्षतिपछि पार्टी मिलाउनेतिर लाग्लान् कि ?

– ओली, प्रचण्ड, माधव नेपाल यी तीन जनाले चुनाव हारेको खण्डमा पार्टी एकता हुन्छ । तर जति खर्च गरेर भए पनि यी ३ नेताले चुनाव जित्छन् । यी तीनैले हारेको खण्डमा १५ दिनभित्र वामपन्थी एकता हुन्छ । वैचारिक लडाइँतिर मुलुक अघि बढ्छ । कांग्रेस एकातिर, कम्युनिष्ट अर्काेतिर । मुलुक, सिष्टम कायपलट हुन्छ । मुलुकका लागि नयाँ प्राण हुन्छ तर यो सिष्टमलाई अघि बढाउनेभन्दा नेताहरूको कुबुद्धिले यो सिष्टमलाई नै खत्तम पार्ने ठाउँमा उनीहरू छन् । उनीहरूले चुनाव जित्ने र यो सिष्टमलाई गिजोल्ने हो ।

आगामी संसदमा एमालेसहितका कम्युनिष्ट मिल्दा सरकार बन्ने संख्या आयो भने उनीहरू मिल्छन् भन्ने विश्वास कत्तिको छ ?

– एमाले, माओवादीको कस्तो पोजिसन आउँछ त्यो नहेरीकन अहिले भन्न सकिँदैन । चुनावको परिणामपछि अर्काे गठबन्धनका विषयमा मूल्यांकन गर्दा यथार्थपरक हुन्छ अहिले नै मूल्यांकन गर्नु समयभन्दा धेरै अगाडि हुन्छ । 

कम्युनिष्ट पार्टी र आन्दोलनको आज जुन दुर्गति भइरहेको छ । त्यसमा कुन–कुन कम्युनिष्ट नेताको के–कस्तो भूमिका छ ? 

– नेपालको कम्युनिष्ट पार्टी र आन्दोलन खत्तम पारेको तीन जनाले । विदेशी शक्तिको सुढ पसाउने माधव नेपाल । महाकाली सन्धि एक्लै पास गर्न नसक्ने हुँदा आफ्नै कार्यकर्ताको रूपमा गोजीको मान्छे केपी ओलीलाई महाकालीमा जोडे । त्यतिखेर बबुरो ओलीको महाकालीमा पुगेपछि बाह्य सम्बन्ध बढ्यो । शुभलाभ भयो । गुट जन्माए र बाह्य शक्तिको खेलाडीको रूपमा ओली पनि अगाडि आए । जनयुद्धको नाममा प्रचण्डले बाह्य शक्तिलाई अँगालो हालेर आए । यी तीन जना नेता नै नेपालको कम्युनिष्ट आन्दोलनलाई तहस–नहस पार्ने मुख्य–मुख्य पात्र हुन् । यी तीनै जना विदेशी शक्तिले खेलाएका पात्र हुन् । मात्राकै हिसाबले सबैभन्दा जिम्मेवारचाहिँ ओली हुन् । एकचोटी संसद भंग गर्न अदालतले नदिएपछि उनले विदेशीको आडमा दुई दुई पटक संसद् भंग गरे । आफ्नै कुबुद्धिले उनी सत्ताबाट सडकमा पुगे । यिनीहरू संकटमा नेपालको नपरेसम्म कम्युनिष्ट आन्दोलन एकीकृत हुँदैन । 

कम्युनिष्ट आन्दोलनमा पु¥याएको क्षतिको पूर्ति कसरी होला ?

– अझै ठूलो क्षति भोग्नै बाँकी छ । यो पुस्ताका यिनै नेताको पहलमा कम्युनिष्ट आन्दोलन एकीकृत र सशक्त भएर अगाडि जाँदैन । पहिलो तहका नेता भनिएका यी बँुख्याचाहरू पार नलागेसम्म कम्युनिष्ट पार्टी एकीकृत हुँदैन । कम्युनिष्ट आन्दोलनको धर्ती नै टुटिहालेको छैन । नेताहरूले बिगारेका हुन् । पहिलो पिँढीलाई नेतृत्वबाट हटाउन सकेको खण्डमा नेपालको कम्युनिष्ट आन्दोलन एकीकृत भएर अगाडि जान सक्छ । त्यो नहटाएसम्म अझ ठूलो क्षति भोग्छ । अहिले कम्युनिष्ट आन्दोलन टुप्पोबाट कुहिँदै आएको छ । कुहिएको टुप्पोलाई काटेर, फेदलाई मलजल गर्ने हो भने फेरि मुना पलाएर आउन सक्छ । 

यहाँले ११ महिनाअगाडि नै एक टेलिभिजन अन्तर्वार्तामा एमालेमा घनश्याम भुसाल र भीम रावलहरू लखेटिने र कमल थापा एमाले भित्रिने प्रक्षेपण गर्नुभएको थियो । ठ्याक्कै मिल्यो पनि । के आधारमा त्यस्तो आँकलन गर्नुभएको थियो ? 

– भीम रावलसहितका दश जनाले गलत काम गरेका हुन् । उनीहरूले ओलीमाथि धेरै भरोसा गरे वा ओलीलाई चिन्न सकेनन् अर्थात् माधव नेपाललाई पत्याएनन् । तर, मलाई लागेको कुरा अहिले यी दुई जनाले मात्र लात खाएका छन् । कालान्तरमा दशै जनाले लात खान्छन् । ओलीले यी दश भाइलाई नडामी छोड्दैनन् जस्तो लाग्छ । अहिले आठ जना त बचेका छन् । कताबाट कुन पातले छापेका छन् वा बोराले छोपेका छन् । कुन दिन त्यो पात हावाले उडाउँछ अनि ती दश भाइ पनि थलिन्छन् । ओलीको मनमा एक पटक यसलाई ठीक पार्छु भनेपछि उनले ऐन÷मौका हेरेर हान्ने हुन् । त्यस्तो दृष्ट स्वभावका मान्छेलाई उनीहरूले पत्याए । केहीले अलिअलि थप्पड खाएका छन् । यी दश भाइ नै माधवसँग लाग्नुपथ्र्याे वा त माधवलाई अदालतमा जानबाटै रोक्नुपथ्र्याे । माधवलाई धोखा दिएर ओलीका पछाडि लाग्नु भनेका यी १० भाइ राजनीतिक रूपमा धोखेबाज हुन् । यस्ता धोखेबाजको उन्नतिचाहिँ हुँदैन । ओलीको स्वभाव बुझेरै मैले भनेको थिएँ । कमल थापाले ओलीलाई धेरै कुबुद्धि सिकाएका छन् । त्यो कुबुद्धिले ओली यहाँसम्म टिकेका छन् । ओलीलाई राम्रो बुद्धि त कमल थापाले कहाँबाट थप्थे ? पैसा उठाउने, साँठगाँठ गर्ने, धर्मका नारा लगाउने, पशुपतिमा जलहरी राख्ने, अयोध्यामा राममन्दिर बनाउने यी सबै कमल थापाकै बुद्धिको पछाडि लागेर ओलीले गरेका हुन् । पार्टीको नेताचाहिँ अरुको सूर्य चिह्नमा चुनाव लड्ने अनि आफ्ना कार्यकर्तालाई आफ्नै चिह्नमा चुनाव लडाउने कतिसम्म अराजनीतिक ? कमल थापालाई ओलीले छाड्नेबित्तिकै उनका धेरै गोप्य कुरा खोलिदिन सक्छन् । त्यहीकारण पनि ओलीले कमल थापालाई छोड्दैनन् । ओलीका दुई जना एडिसी छन् सुवास नेम्वाङ र कमल थापा । यी दुइवटै भित्री खेलाडी । दाउपेचकै मान्छे ओलीलाई चाहिने हो ।

झापा आन्दोलनका अगुवाहरू केपी ओलीबाट पेलानमा पर्नुभयो । ती दिनलाई अहिले कसरी स्मरण गर्नुहुन्छ ?

– झापा आन्दोलनको नेता सीपी, मोहनचन्द्र, आरके मैनालीलगायत थियौँ । कति बुद्धि सीपीको आएन, कति मेरो पुगेन, मोहनचन्द्रको पुगेन । बुद्धि सबैको पुगेको भए त आज यो गति हुँदैनथ्यो । आन्दोलन बडो पवित्र, स्वच्छ र क्रान्तिकारी चिन्तनका साथ अगाडि आएको थियो । कुनै राजनीतिक बेइमानी थिएन । झापा आन्दोलनको पेरिफेरिमा आएकाहरू कोही पनि गलत थिएनन् । पछि माले भइसकेपछि बाह्य शक्तिको चलखेल हुन थाल्यो । झापा आन्दोलनको नेतृत्वमा स्वार्थीपना आयो । सीपीले पनि सम्हाल्न सकेनन्, उनका स्वभावगत केही कमजोरी थिए तर चिन्तनमा कमजोरी थिएनन् । त्यही कमीमा माधवजस्ता शक्ति यहाँ घुसे । मदन भण्डारीजस्ता इमान्दार मान्छेलाई बाँच्न दिएनन् । केपीजस्तो पदलोलुप मान्छेलाई यो पोजिसनसम्म ल्याउने त माधव नेपाल नै हुन् । आज जति अहिले ओलीले माधव नेपाललाई गाली गर्छन्, त्यो भन्दा धेरै उचाइमा माधवले ओलीलाई समातेर ल्याएको कारण आरके र सीपीलाई ठीक गर्नका लागि । त्यही ओलीले यिनको टुप्पीमा समातेर रसाताल पु¥याइदिए । हामी झापा आन्दोलन शुरु गर्ने नेताहरूका धेरै कमीकमजोरी भए आन्दोलनका हिसाबले होइन, व्यक्तिगत । जसको परिणाम आन्दोलनको नेतृत्व जडतत्वहरूको हातमा पुग्यो । गलत तत्वको हातमा पुगेपछि एउटा बिन्दुमा पुगेर धराशयी हुनु नै थियो । अहिले धराशयी हुँदै आइरहेको छ । 

टिप्पणीहरू