भित्र्याउने जर्नेलकी बुहारी,रानी साहेबहरुलाई निम्तो र सारी

भित्र्याउने जर्नेलकी बुहारी,रानी साहेबहरुलाई निम्तो र सारी

भन्न त फौजमा कडा अनुशासन हुन्छ भनिन्छ । तर,अनुशासनका नाममा चाकडी,चाप्लुसी र जीहजुरी पनि फौजमै हुन्छ । सेना,प्रहरीमा हाकिमलाई खुशी पार्न कोसेली पुर्याउन जाने सामन्तवादी चिन्तन अहिले पनि छ । यसको पछिल्लो उदाहरण हो,अघिल्लो हप्ता बिहाको निम्तोमा एक जना जर्नेलले 'रानी साप' हरुलाई साडी बाँडेको प्रकरण । 

एक जना एक तारे जर्नेलले आफ्ना छोराको विवाह अर्को दुई तारे जर्नेल (हुनेवाला चिफ) को छोरीसँग पक्का गरेका थिए । धुमधामका साथ छोराको बिहे गर्न लागेका जर्सापले सेनापति,तीन तारे जर्नेलहरु र जंगीअड्डाका ठूला हाकिमहरुलाई बिहाको निम्तो गरे । तर,रमाइलो के भने निमन्त्रणा कार्डसँगै पिएसओज जर्नेलका श्रीमती (सेनामा उनीहरुलाई रानी साप भनिन्छ) लाई महंगा साडी उपहार दिइयो । 

हुन् त हाकिमलाई महंगा विदेशी रक्सी,घ्यू,लोकल कुखुरा,बँदेल, कालिजलगायत कोसेली दिने प्रचलन सेनामा नयाँ होइन । कुनै सैनिक कर्मचारी मिसनमा गएको छ भने फर्केर आउँदा उसले अनिवार्य रुपमा महँगो विदेशी रक्सी हाकिमलाई उपहार स्वरूप दिने गरेको सुनिएकै छ । तर,बिहेको निम्तोमा समेत हाकिमका श्रीमतीलाई साडी बाँडेको घटनाप्रति भने रक्षा र अर्थ मन्त्रालयका हाकिमहरुले अचम्म मानेका छन् । 

तल्लो दर्जाका कर्मचारीका लागि जर्नेलहरु अनुशासन र मितव्ययिताको उदाहरण बन्नुपर्नेमा आफैँ छोराको बिहेमा कोसेली बोकेर हाकिमका घर-घर धाएको भन्दै सिपाहीहरुले उदेक मानेका छन् । एउटा जर्नेलसँग त्यति धेरै महंगा साडी खरिद गर्ने खर्च कहाँबाट आउँछ ? बिहेमा हुने त्यत्रो खर्च व्यवस्थापनको स्रोत के हो ? जंगीअड्डातिर यस्ता प्रश्न उठिरहेका छन् । 

यस्तै स-साना घरायसी कुराले नै सरकारी निकायहरुलाई खोक्रो बनाइरहेको हुन्छ भने लेखा प्रणाली भ्रष्ट बनिरहेको छ । भ्रष्टाचार कहाँबाट जन्मिन्छ र अनुशासन कसरी तोडिन्छ भन्ने कुराको उदाहरण पनि हो यो । सेनामा झाङ्गिएको 'कोसेली प्रवृत्ति'ले त्यहाँभित्र हुने सुशासनको बहसलाई नराम्रोसँग गिज्याएको बताइन्छ ।

टिप्पणीहरू