कम्बोडियामा बितेका निराकारका बाबुसँग प्रधानमन्त्रीको भेट

कम्बोडियामा बितेका निराकारका बाबुसँग प्रधानमन्त्रीको भेट

गत बिहीबार कम्बोडिया ग्राण्ड डायमण्डसिटी क्यासिनोमा भएको आगलागीमा परी मृत्यु भएका निराकार पाण्डेका बुबा अग्नि पाण्डेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् ।

आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बोलाएर प्रधानमन्त्रीले पाण्डेसँग भेट गर्नुभएको हो । भेटमा पाण्डेले छोराको अप्रत्यासित निधनले आफूहरू स्तब्ध भएको भन्दै सरकारले देखाएको चासो एवं जिम्मेवारीवोधप्रति धन्यवाद व्यक्त गरेको प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ । 

प्रधानमन्त्री प्रचण्डले निराकारको निधनप्रति दु:ख व्यक्त गर्दै परिवारजनप्रति समवेदना व्यक्त गर्नुभएको छ । साथै निराकारको शव नेपाल ल्याउन र परिवारलाई सरकारको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै प्रधानमन्त्रीले  धैर्यधारणका लागि निराकारका बुबा अग्निलाई आग्रह गर्नुभएको बताइएको छ ।

व्यावसायिक कामको सिलसिलामा कम्बोडिया पुगेका निराकारको आगलागीबाट जोगिन आफू बसेको होटलको १२ औँ तलबाट हामफाल्दा ज्यान गएको हो । हामफाल्नुअघि उनले भिडियो कल गरेर परिवारका सदस्यहरुसँग गरेको मार्मिक संवाद समाजिक सञ्जालमा भाइरल भएको छ ।

टिप्पणीहरू