मरेका बिरामीको सुन त बाँकी राखेनन् सुरक्षा गार्डले

मरेका बिरामीको सुन त बाँकी राखेनन् सुरक्षा गार्डले

चितवनस्थित एक अस्पतालबाट एउटा शवको हातमा रहेको सुनको गहना चोरी भएको छ । आइतबार साँझ स्थानीय केराबारीमा भएको सडक दुर्घटनामा निधन भएका मोटरसाइकल चालकको हातमा लगाइएको सुनको ब्रासलेट एकाएक चोरी भएको थियो ।

नारायणगढ मुग्लिङ सडकको उक्त खण्डमा ना. ५६ ख ३३१२ नम्बरको ट्रकले बागमती प्रदेश ०३–००३ प ६५७४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा तनहुँको भानु नगरपालिका २ घर भई हाल भरतपुर १ बस्ने ३७ वर्षका सञ्जीवबहादुर रायमाझी घाइते भएपछि उपचारार्थ अस्पताल लगिएको थियो ।

भरतपुर अस्पतालमा उपचारको क्रममा उनको निधन भएपछि शवलाई आकस्मिक कक्ष नजिकैको कोठामा राखिएको अवस्थामा मृतकको हातमा रहेको सुनको ब्रास्लेट चोरी भएको हो । प्रहरीले अनुसन्धानको सिलसिलामा सोही अस्पतालका गार्डले मृतकको गहना चोरेको पुष्टि गरेको छ ।

खोटाङको ऐसेलुखर्क गाउँपालिका ६ घर भई हाल भरतपुर ७ बस्ने २७ वर्षका  कृष्ण राईलाई मृतकको गहना चोरेको आरोपमा नियन्त्रणमा लिइएको छ । चोरी कसुरमा उनलाई चितवन जिल्ला अदालतबाट म्याद थपको अनुमति लिएर अनुसन्धान भैरहेको बताइएको छ ।

टिप्पणीहरू