सेनाले थाल्यो रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम

सेनाले थाल्यो रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम

नेपाली सेनाको हेटौँडास्थित मध्य पृतना हेडक्वार्टरमा ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम (डीसीओपी)’ सुरु भएको छ । सेना र सञ्चार जगतबीचको आपसी समझदारीलाई अभिवृद्धि गर्दै आपसी पेशागत सकारात्मक एवम् प्रभावकारी रुपमा अगाडि बढाउने उद्देश्यले अभिमुखीकरण आयोजना गरिएको बताइएको छ । 

सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार उक्त कार्यक्रम आजदेखि सात दिनसम्म हुनेछ । कार्यक्रममा विभिन्न सञ्चारमाध्यमका २० जना संवाददाताको सहभागिता छ । 

नेपाली सेनाको सांगठनिक स्वरुप, भूमिका, जिम्मेवारी तथा नेपाली सेनासम्बन्धी अन्य विविध विषयमा जानकारी दिन र समाचार सम्प्रेषण गर्दा स्पष्ट हुने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको बताइएको छ ।  

पृतनापति उपरथी होमनाथ दवाडीले शुभारम्भ गरेको उक्त संवाददाताहरुलाई नेपाली सेनाका विभिन्न निकायको काम, कर्तव्य र जिम्मेवारीको बारेमा जानकारी गराइने छ । उनीहरुलाई मकवानपुरगढी, निर्माणाधीन एकीकरण स्मृति उद्यान तथा पर्सा राष्ट्रिय निकुञ्चको स्थलगत भ्रमणसमेत गराउने योजना रहेको जनाइएको छ ।

टिप्पणीहरू