टिकटकमार्फत जुवा खेलाउने प्रहरी फन्दामा

टिकटकमार्फत जुवा खेलाउने प्रहरी फन्दामा

सामाजिक सञ्जाल टिकटकमार्फत जुवा खेलाउँदै आएको एउटा गिरोहका व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले गोप्य सूचनाको आधारमा उनलाई पक्रेको बताइएको छ । 

पक्राउ पर्नेमा पूर्वी रुकम पुथा गाउँपालिका वडा नम्बर ५ घर भई हाल ललितपुरको हरिसिद्धी बस्ने ३५ वर्षे हरिचन्द्र मल्ल हुन् । मल्लले ईसेवालगायत अन्य डिजिटल वालेटमा विभिन्न व्यक्तिलाई रकम जम्मा गर्न लगाई आर्थिक लाभ लिने गरेको प्रहरीले जानकारी गराएको छ । 

मल्ल अनलाइनमार्फत् जुवा खेलाइरहेको अवस्थामा ललितपुरबाट पक्राउ परेका हुन् । उनले पछिल्लो १५ दिनको अवधिमा ८ लाख ५३ हजार ३३१ रुपैयाँ बराबरको टिकटक लाइभमा कारोबार गरेको पाइएको छ । 

प्रहरीले उनको साथबाट जुवा खेलाउन प्रयोग भएको स्र्माट फोन, विभिन्न व्यक्तिको नाम र रकम उल्लेख भएको रजिस्ट्रर र तास पनि बरामद गरेको छ । अस्ति पक्राउ परेका उनलाई मुलुकी अपराध संहिता २०७४ को दफा १२५ को उपदफा १ बमोजिमको कसूरमा आवश्यक अनुसन्धान एवम् कारबाहीको निम्ति जिल्ला प्रहरी परिसर ललितपुरको जिम्मा लगाइएको छ ।

टिप्पणीहरू