हाकिमले वृद्धाको जग्गा खर्लप्पै

– अञ्जनकुमार 

लमजुङमा एउटा सहकारीका हाकिमले स्थानीय वृद्ध महिलाको जग्गा खुसुक्क नामसारी गरेको तथ्य खुलेको छ । कालिका सहकारीका मृगेन्द्र घिमिरेले ६९ वर्षकी महिलाको जग्गा आफ्नो नाममा पास गरेको बताइन्छ । उक्त व्यवहारपछि सुकुम्बासी बन्न लागेकी महिलाले जिल्ला प्रहरी कार्यालयमा केही दिनअघि मात्रै उजुरी दिएकी थिइन् । उक्त निवेदनमा घिमिरेको नियतमाथि थप प्रश्नचिह्न उठाइएको छ ।
निकै दुःखसाथ बचत गरेको रकम कालिका सहकारीले फिर्ता नदिँदा थुप्रै बचतकर्ताले हैरानी खेपेका छन् । दर्जनौं उपभोक्ताको भीडमा उमेरले नेटो काट्न लागेकी साविक पाचोक गाविस, हाल ः दोर्दी गाउँपालिका–९ की ६९ वर्षीया बिबा गुरुङको नौथर र पाचोकका जग्गा घिमिरेले पत्तो नदिई आफ्नो नाममा सारेको प्रहरीमा दर्ता भएको निवेदनमा उल्लेख छ ।
कित्ता नम्बर ४२१,१०७, २७३, ५१९, २९९, १०३ र ३९७ का जग्गा मालपोत कार्यालयमा सेटिङ मिलाएर निरक्षर गुरुङको जग्गा घिमिरेले खर्लप्पै आफ्नो नाममा गरेको छोरी अमृता गुरुङले बताइन् । अमृताले २०७३ सालमा लिएको तीन लाख रुपैयाँ ऋण तिर्न जाँदा उक्त रहस्य पत्ता लागेको हो । 

विवाह गरेर साविक गौंडा गाविस पुगेकी छोरी अमृताले लमजुङ उद्योग वाणिज्य संघको प्रथम उपाध्यक्षसमेत रहेका घिमिरेको कालिका सहकारीमा आमाको लालपुर्जा धितो राखेर तीन लाख लिएकी थिइन् । उक्त ऋणको तमसुक गरे पनि अमृताको हातमा भने एक लाख ८० हजार मात्रै परेको बताइन्छ । ऋण मिलाइदिएको भन्दै ‘दले’ ले ५० हजार रुपैयाँ र सहकारीले सेवा शुल्कको नाममा ७० हजार कट्टा गरेको छोरीले अहिले बताइन् । तत्कालीन समयमा कालिका सहकारीमा घिमिरेका दम्पतीको मात्रै हालीमुहाली थियोे । २०७३ सालमा लिएको १ लाख ८० हजार ऋण (तमसुकमा ३ लाख) यो वर्षको सुरुवाततिर तिर्न खोज्दा ६ लाख ७० हजार नाघेको बताइयो । त्यतिले नपुगेर यसबीचमा धितो राखिएको लालपुर्जा घिमिरेले कसरी आफ्नो नाममा पास गरे ? जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुखले समेत अचम्म मानेका छन् । 

बिबा यस्ता घटनामा एक प्रतिनिधि पात्र मात्र भएको र यस्ता पीडित अरु पनि हुन सक्ने जिल्ला प्रहरीको भनाइ छ । आफूले धितो राखेको लालपुर्जालाई दुरुपयोग गरी राजीनामा पास गरेर घिमिरेले चप्काएपछि पीडित बिबा र छोरी अमृताले कानुनी कारबाहीको निम्ति जिल्ला प्रहरी कार्यालय लमजुङमा उजुरी दर्ता गराएको बताए । 

टिप्पणीहरू