नयाँ नागरिकता बनाएपछि रविले बुझाएको राहदानी बेवारिस

नयाँ नागरिकता बनाएपछि रविले बुझाएको राहदानी बेवारिस

ललिता निवास जग्गा प्रकरणका आरोपितले जग्गा फर्काएर उन्मुक्ति पाएकै शैलीमा आफ्नो राहदानी (पासपोर्ट) फिर्ता गरेर निर्दोष बन्न खोजेका रवि लामिछानेलाई तत्काल त्यस्तो सुविधा प्राप्त नहुने भएको छ । राहदानी विभागले फिर्ता गरेको राहदानी निस्क्रिय नगराई त्यसै राखेपछि लामिछानेले चाहेजस्तो सहज अवस्था नबनेको हो । 

अमेरिकी नागरिकता (ग्रिनकार्ड) लिएपछि निस्क्रिय भैसकेको नेपाली नागरिकता प्रयोग गरेको सर्वोच्च अदालतको ठहरसङ्गै आइतबार त्रिपुरेश्वरस्थित राहदानी विभाग पुगेर उनले पासपोर्ट फिर्ता गरेका थिए । जिल्ला प्रशासन कार्यालय, काठमाडौँबाट पुरानै नम्बरको नयाँ नागरिकता बनाएर परिवारका सदस्य र केही समर्थकसहित राहदानी विभाग पुगेका उनले पासपोर्ट फिर्ता गरी भर्पाइ लिएर निस्किएका थिए । 

तर, विभागले अहिलेसम्म उक्त राहदानीउपर कारवाही प्रक्रिया शुरु गरेको छैन । विभाग स्रोतका अनुसार लामिछानेले दोहोरो राहदानी लिएको विषय बाहिर आइसकेको अवस्थामा छानविन हुनसक्ने अवस्थालाई ध्यानमा राखेर हाललाई रध्द नगरिएको हो ।   

लामिछानेले सन् २०१४ मा अमेरिकी पासपोर्ट लिएपछि लगत्तै अर्को साल नेपालबाट रध्द भैसकेको नागरिकता देखाएर पासपोर्ट बनाएका थिए । आइतबार उनले त्यही पासपोर्ट विभागलाई फिर्ता गरेका हुन् । 

सामान्यतया:  पुरानो नागरिकताका आधारमा पासपोर्ट बनाएको अवस्थामा नयाँ नागरिकता लिएपछि त्यस्तो राहदानी कानुनअनुसार निस्क्रिय गराइन्छ । तर, लामिछानेको हकमा राहदानी दुरुपयोगको आरोप लागेकाले विभाग हच्किएको बताइन्छ ।

टिप्पणीहरू