रास्वपाले धैर्यता नगुमाउने माओवादीको विश्वास

रास्वपाले धैर्यता नगुमाउने माओवादीको विश्वास

माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराले गृह मन्त्रालयका सम्बन्धमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले धैर्यता राख्नुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रवि लामिछानेलाई गृहमन्त्री नबनाएपछि रास्वपा सरकारबाट बाहिरिने चर्चा चलिरहेका बेला उहाँको यस्तो प्रतिक्रिया आएको हो । 

पार्टी स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महराले लामिछानेको मुद्दा अदालतमा बाँकी नै रहेकाले रास्वपा धैर्य हुनुपर्नेमा जोड दिनुभयो । 'अदालतमा मुद्दा अझै सकिएको छैन । के गर्ने भन्ने निर्णय गर्न बाँकी छ । रास्वपाले धैर्य गर्नुपर्छ’, उहाँले भन्नुभयो । 

प्रधानमन्त्री प्रचण्डले पनि रास्वपा सरकारबाट नबाहिरिने बताउनुभएको छ । बैठकबाट बाहिरिने क्रममा उहाँले यसबारे सोधिएको प्रश्नमा संक्षिप्त प्रतिकिया दिँदै भन्नुभयो, ‘केही हुँदैन फिर्ता लिनुहुन्न मैले बुझेसम्म ।’

नागरिकता मुद्धामा सर्वोच्च अदालतको फैसलाले उपप्रधानसहित गृहमन्त्री गुमाएका लामिछाने पुन: सोही पदमा पुनर्स्थापित हुन प्रयासरत छन् । तर, प्रधानमन्त्री प्रचण्ड भने फैसलाको पूर्णपाठ नआउँदासम्म कसैलाई पनि गृहमन्त्री नबनाउने अडानमा हुनुहुन्छ । 

गृह मन्त्रालय नपाए सरकार छाड्ने चेतावनी दिएको रास्वपाको आज अपरान्ह केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बसेको छ ।

टिप्पणीहरू