मातहतका कार्यालयलाई पर्यटन मन्त्रालयको निर्देशन - होटलमा कार्यक्रम नगर्नू

मातहतका कार्यालयलाई पर्यटन मन्त्रालयको निर्देशन - होटलमा कार्यक्रम नगर्नू

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मातहतका निकायहरुलाई महंगा होटलमा कार्यक्रम सञ्चालन नगर्न निर्देशन दिएको छ । मन्त्रालयले मातहतका कार्यालयलाई तोकिएको कार्यक्षेत्रभित्रका जिम्मेवारी एवम् कार्यसम्पादनका लागि होटल नखोजी आफ्नै सभाहल प्रयोग गर्न भनेको हो । 

वार्षिक कार्यक्रमबमोजिम तालिम, कार्यशाला गोष्ठी, समारोह एवम् बैठकहरु सञ्चालन गर्दा अधिकांश कार्यालयले निजी क्षेत्रका होटल एवम् गैरसरकारी क्षेत्रका कार्यक्रमस्थल भाडामा लिने गरेको मौखिक गुनासा बढेपछि यस्तो निर्देशन दिएको मन्त्रालयले बताएको छ । बाहिर कार्यक्रम गर्दा सरकारी खर्च अचाक्क्ली बढेको र कार्यक्रम मितव्ययी नभएको मन्त्रालयको भनाई छ । 

मन्त्रालयले आफ्नो सभाहल नभएको अवस्थामा सम्भव भएसम्म अन्य सरकारी निकायसंग समन्वय गरेर कार्यक्रम गर्न सुझावसमेत दिएको छ । ३१ कार्यालयलाई परिपत्र गर्दै मन्त्रालयले सरकारी खर्चको मितव्ययिता एवम् कार्य सम्पादनमा प्रभावकारिता ल्याउन जरुरी रहेकोतर्फ ध्यानाकर्षण गराएको छ । 

परिपत्रमा भनिएको छ,‘सरकारी बजेटलाई मितव्ययी ढंगबाट खर्च गरी सरकारी खर्चको मितव्ययिता एवम् कार्यसम्पादनमा प्रभावकारिता ल्याउन जरुरी देखिएको छ । यसका लागि आफ्नो सभाहल वा कार्यक्रमस्थल भएसम्म आफ्नै सभाहल प्रयोग गरी कार्यक्रम सञ्चालन गर्ने र आफ्नो सभाहल नरहेको अवस्थामा सम्भव भएसम्म अन्य सरकारी निकायसंग समन्वय गरी उक्त सरकारी निकायमा रहेको सभाहल प्रयोग गर्नुपर्ने देखिएको छ ।’

त्यस्तै, काठमाडौं उपत्यकामा कुनै कार्यक्रम गर्नुपरेमा नेपाल पर्यटन बोर्ड तथा होटल व्यवस्थापन प्रतिष्ठानको परिसरभित्र दुईसय क्षमताको एक, ५०–५० क्षमताका दुईवटा गरी तीन वटा हल प्रयोग गर्न सकिने मन्त्रालयले जानकारी गराएको छ । 

‘यस मन्त्रालयअन्तर्गतका निकायहरुले काठमाडौं उपत्यकाभित्र तालिम, कार्यशाला गोष्ठी, समारोह एवम् बैठकहरु सञ्चालन गर्नुपर्दा उक्त प्रतिष्ठानको हल प्रयोग गर्नुहुन नेपाल सरकार (सचिवस्तर) मिति २०७९–१०–२६ को निर्णयानुसार अनुरोध छ’, पत्रमा उल्लेख छ ।

 

टिप्पणीहरू