फटाफटको फैसला
रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको धेरै भएको छैन । चुनाव सकिएपछि दर्ता भएको मुद्दा हो यो । तर त्यसको सुनुवाइ प्रक्रिया यति चाँडै भयो कि मानिसहरू छक्क परे । सुनुवाइ मात्र होइन, बहस, इजलास, फैसलासमेत फास्ट ट्र्याकमा भइदियो । सर्वोच्च अदालतले यति फास्ट काम गरेको देखेर रवि लामिछाने आफै पनि छक्क हुनुहुन्छ । अस्ति पत्रकार सम्मेलनमा उहाँले प्रश्नै गर्नुभयो— अदालतमा त्यत्रा राजनीतिक नेताहरूको मुद्दा पेण्डिङमा छ, मेरो मात्रै यति चाँडै किन ?
रवि लामिछाने छक्क पर्नु आफ्नो ठाउँमा छ, उहाँ छक्क परेको देखेर हामी छक्क पर्नु फेरि आफ्नै ठाउँमा छ । सर्वोच्चले छिटो काम गर्यो भनेर उहाँ छक्क परेको किन होला ? आखिर उहाँहरू नै होइन, देशमा जे काममा पनि ढिलासुस्ती छ, त्यसैलाई ठीक गर्न हामी राजनीतिमा आएको भन्नेहरू ? अड्डा, अदालत, सरकारी कार्यालय जहाँ गए पनि ढिलासुस्ती छ, ढिलासुस्तीले गर्दा जनताले दुःख पाएका छन्, हामी आएपछि त्यो जम्मै ठीक हुन्छ भनेर उहाँहरू आफैले भन्नुभएको हो ।
उहाँहरू आउनुभयो । आएको महसुस हुने गरी सर्वोच्च अदालतले काम पनि छिटो छिटो नै गरिदियो । तर अदालतले छिटो छिटो काम गर्दा फेरि उहाँहरू नै प्रश्न गर्नुहुन्छ– किन छिटो गरिस् ? यो त अदालतले उहाँहरूकै लाइन फलो गरेको भयो नि त । यसमा फेरि उहाँहरू नै किन चकित ?
टिप्पणीहरू