भीरगाउँबासीका लागि गाउँमै प्रसूति सेवा

भीरगाउँबासीका लागि गाउँमै प्रसूति सेवा

धनकुटा नगरपालिकाले गाउँमै सुरक्षित प्रसूति सेवा उपलब्ध गराउन थालेको छ । नगरपालिकाको वडा नं. २ स्थित भीरगाउँ स्वास्थ्य चौकीमा प्रसूति सेवा अर्थात् बर्थिङ सेन्टर सञ्चालनमा आएको हो ।

गाउँमा प्रसूति सेवा नहुँदा भीरगाउँबासीहरु प्रसूति गराउन धनकुटा अस्पताल जान बाध्य भएकाले नगरपालिकाको विशेष पहलमा स्वास्थ्य चौकीमा ‘बर्थिङ सेन्टर’ सञ्चालन गरेको नगरपालिकाका उपमेयर भिमादेवी खनालले बताइन् । नगरपालिकाले स्वास्थ्य चौकीमा कर्मचारी थप गरेर प्रसूति सेवा सञ्चालनमा ल्याएको उनले जानकारी दिईन् । 

यसअघि सो स्वास्थ्य चौकीमा एक हेल्थ असिस्टेन्स, दुई अनमी र एक अहेब थिए । तर, नगरपालिकाले आन्तरिक स्रोतबाट सेवासुविधा उपलब्ध गराउने गरी एक जना प्रसूति गराउन दक्ष अनमी थपेको छ । गर्भावस्थामा गर्नुपर्ने नियमित गर्भजाँच र २४ सै घण्टा प्रसूति सेवा प्रदान गर्ने गरी स्वास्थ्य चौकीमा प्रसूति सेवा सञ्चालन गरिएको नगरपालिकाको स्वास्थ्य उपशाखाका प्रमुख भोजराज भण्डारीले बताए । उनले प्रसूति सेवा सञ्चालन गर्न कात्तिक २७ गते नै निर्णय गरितापनि पुस २७ गतेबाट सेवा सुरु गरिएको जानकारी गराए । 

‘हालसम्म स्वास्थ्य चौकीमा दुई जना गर्भवती महिलाले बच्चा जन्माइसकेका छन् । साथै, अहिले उनीहरुको अवस्था निकै राम्रो छ,’ उनले भने, ‘यसरी स्वास्थ्य चौकीमा प्रसूति गराउनेहरुलाई यातायात खर्चबापत दुई हजार रुपैँया, नियमित प्रसूति जाँच प्रोत्साहनस्वरुप आठ सय रुपैँयासहित आमालाई एक सेट र बच्चालाई दुई सेट कपडा उपलब्ध गराइन्छ ।’

भण्डारीका अनुसार नगरपालिकाले यसअघि वडा नं. ९ को बेलहारा स्वास्थ्य चौकीमा पनि बर्थिङ सेन्टर सञ्चालन गरेर सेवा प्रदान गर्दै आइरहेको छ । योसँगै धनकुटा नगरपालिकामा जिल्ला अस्पतालबाहेक दुई वटा बर्थिङ सेन्टर सञ्चालनमा आएको छ । 

धनकुटा नगरपालिकाले नगरका सबै वडामा सहरी स्वास्थ्य क्लिनिक खोल्ने तयारी गरिरहेको स्वास्थ्य उपशाखाका प्रमुख भोजराज भण्डारीले जानकारी दिए ।

टिप्पणीहरू