घरगाउँका उत्पादन बेच्न स्थानीय सरकारद्वारा हाटबजार
मकवानपुरको अधिक चेपाङ जातिको बसोबास रहेको राक्सिराङ गाउँपालिकामा हिजो अनौठा दृष्य देखिए । पालिकाको केन्द्र चैनपुरनजिकै दुई वर्षअघि निर्माण भएका तर सँधै खाली देखिएका टहराहरु भरिभराउ थिए । त्यहाँ राखिएका घरेलु उत्पादन र मौलिक सीप प्रदर्शनीले अधिकांश पाहुनाको नजरलाई तानेको थियो ।
राक्सिराङ गाउँपालिकाले आफ्नो पालिकाभित्र उत्पादित स्थानीय सामानको प्रवद्र्धन, बिक्री तथा खरिदलाई समेत ध्यानमा राखी हाटबजारको सुरुवात गरेको हो । हाटबजारमा चेपाङ जातिले अनिकालको बेला प्राण धान्नका लागि प्रयोग गर्ने खाद्यवस्तुहरु जंगली कन्दमूल, गिठा, भ्याकुर, तरुल, महलगायतको प्रदर्शनी तथा बिक्री वितरण गरिएको थियो ।
२० वटा स्टलमा कतै आरनमा स्थानीय सीप प्रयोग गरी बनाइएका घरेलु भाँडाकुँडा र हतियारहरु थिए भने कतै किसानले गाउँघरमै पालेका लोकल कुखुराका भाले देखिन्थे । कतै पशुपालक किसानहरुले पालेका बंगुरको मासु समेत बिक्री भइरहेको देखिन्थ्यो । त्यसो त चेपाङ समुदायसँग सम्बन्ध जोडिएका गिठा, भ्याकुर र तरुलहरुको परिकारसमेत रहेको खाजाघरमा पनि ग्राहकहरुको चर्को भिड थियो ।
जन वकालत मञ्च (नाफान) दिगो विकासका लागि एकता नेपाल, नारी सीप सिर्जना केन्द्र, सुक्ष्म पुष्प समाज, बिघ्नहर्ता नेपाललगायत गैरसरकारी संस्थाको समेत समन्वयमा गाउँपालिका स्थानीय मालवस्तुको बिक्री र प्रवर्दनका लागि हाटबजार सञ्चालन गरेको हो । हाटबजारको उद्घाटन बागमती प्रदेशका सांसद एवम् पूर्व गृहराज्यमन्त्री इन्द्रबहादुर बानियाँले गरेका हुन् । गाउँपालिका अध्यक्ष राजकुमार मल्लका अनुसार अब हरेक महिनाको १ गते र १५ गते हाटबजार लाग्नेछ ।
टिप्पणीहरू