बालाजुमा प्रहरीको गाडी जल्दा दोष कसको ?
आज साँझ बालाजु माछापोखरीमा प्रहरीको दुई वटा गाडी जलाइएका छन् । केही प्रदर्शनकारी र प्रहरी घाइते भएका छन् । साँझको तनावपूर्ण अवस्थाले महाराजगञ्जदेखि कलंकीसम्मको यातायात अवरुद्ध भएको छ ।
दिउँसो साढे १ बजे नयाँ बसपार्क क्षेत्रमा लाइसेन्स निलम्बन गर्ने ट्राफिक प्रहरीको पछिल्लो निर्णयको बिरोधमा यातायात मजदुरहरुले प्रदर्शन गरेका हुन् । उनीहरुका केन्द्रीय अध्यक्ष दिपक केसीको नेतृत्वमा भएको प्रदर्शनमा झण्डै चार सय जना सहभागी थिए ।
सँगसँगै एमाले निकट संगठनका अध्यक्ष भीम ज्वालाको नेतृत्वमा यातायात व्यवसायीहरूले पनि लाइसेन्स खारेजीको विरोध गरे । पहिले प्रदर्शनकारीले टायर बालेर बिरोध गरेपछि प्रहरीले निभाउन खोज्दा प्रहरीसङ्ग झडप भएको थियो ।
सोही क्रममा प्रदर्शनकारीले प्रहरीका दुई वटा गाडीमा आगजनी गरेपछि स्थिति थप तनावग्रस्त भएको बताइन्छ । उनीहरुले बालाजुका डिएसपीको गाडी बा.२ झ १४९ नम्बर र प्रहरीकै सीआरभी बा.१ ज ७२२४ नम्बरको गाडी जलाइदिए । साथै माछापोखरी चोकमा रहेको ट्राफिक प्रहरी पोष्ट पनि आगो लगाएर ध्वस्त बनाए ।
यस्तो अवस्था एकाएक कसरी आयो भन्नेबारे प्रहरीभित्रै विश्लेषण गर्न थालिएको छ । ट्राफिक प्रहरीकी डिआइजी मीरा चौधरीको अग्रसरतामा एकैचोटी जरिवाना बढाइएको,छ पटक चिट काटेपछि चालकको लाइसेन्स निलम्बन गर्ने, सबै ठूला सार्वजनिक यातायातका सवारी साधनलाई बाहिर राख्न नपाइने र बसपार्कमा हुल्न उर्दी जारी गरेपछि चालक र मजदुरहरु उग्र भएको प्रहरीको निश्कर्ष छ । उनीहरुका अनुसार बसपार्कमा पर्याप्त स्थान नभएको अवस्थामा एकपक्षीय ढंगले दिइएको निर्देशनका कारण आज उग्र स्थितिको सामना गर्नुपरेको थियो ।
अर्कोतर्फ मजदुरहरु एमाले सचिव रघुवीर महासेठ स्वामित्वको नयाँ बसपार्क ठेक्का लिएको ल्होत्से बहुद्देश्यीय कम्पनीका मालिक दिपक कुँवरको ज्यादतीबाट पनि आजित भएको प्रहरीको बुझाइ छ । उनले मजदुरहरुलाई पेलेको गुनासो पहिलेदेखि सुनिएकाले आज आगोमा घिउ थप्ने काम भएको हो । एकातिर कुँवरसँग रुष्ट, अर्कातिर मीराको निर्णय मन नपरेको अवस्थामा उनीहरुले आज उत्तेजित प्रदर्शन गरेको बताइन्छ ।
आजै कुँवरका केही मान्छेले मजदुरहरुलाई बसपार्क एरियामा कुटपिट गरेका थिए । उक्त कुटपिटमा संलग्न मल्ल थरका एक जनासहित अर्को एक जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको बताइन्छ ।
दिपक केसीका मान्छेबाट दिउँसो मजदुर कुटिएपछि कोणसभा र विरोध प्रदर्शन चर्क्यो । तर आफूहरुले धरपकड गर्दा भीआईपीको भ्रमण बिग्रने र यातायात ठप्प हुने भएकाले प्रहरी बिलखबन्दमा परेको थियो । टियर ग्याससमेत नहान्ने सल्लाह बिहानै भएको स्रोतको दाबी छ । तर दुबै पक्ष तनावमा आएपछि गाडी र प्रहरी पोष्ट जलाइएको हो ।
यसैबीच राजधानीका ट्याक्सी चालकहरुले भोलि सबै ट्याक्सी ग्यारेजमा थन्काएर चोक चोकमा भेला हुने बताएका छन् ।
टिप्पणीहरू