तलब नपाएपछि सामुदायिक विद्यालयका शिक्षकहरु आन्दोलनमा
सर्लाहीको कविलासी नगरपालिकाका शिक्षकहरु आन्दोलनमा उत्रिएका छन् । लामो समयदेखि तलब नपाएपछि नगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयका शिक्षकहरु आन्दोलनमा उत्रिएका हुन् ।
नगरपालिकाले ६ महिनादेखि तलब नदिएको शिक्षकहरुको गुनासो छ । शिक्षकहरुको आन्दोलनका कारण नगरपालिकाका सबै विद्यालयमा पढाइ ठप्प हुँदा विद्यार्थीहरु मर्कामा परेका छन् ।
यता, नगरपालिकाका सूचना अधिकारी जयवीर यादवले हाल वार्ता भइसकेको जानकारी दिए । उनकाअनुसार नगरपालिकामा ३० वटा सामुदायिक विद्यालय छन् ।
‘दिउँसो एकछिन आन्दोलन भएको हो । अहिले वार्ता भइसकेको छ । नगरपालिकाले उहाँहरुको खातामा तलब हालिसकेको छ’, उनले भने, ‘शिक्षकहरु आन्दोलनमा उत्रिँदा विद्यार्थीको पढाइमा चाँहि हानी पुग्यो ।’
कहिले प्रमुख प्रशासकीय अधिकृत त कहिले लेखापाल कार्यालय नआउने भएकाले समयमै तलब दिन समस्या भएको उनको भनाइ छ ।
टिप्पणीहरू