एमाले प्रतिनिधिहरुमा चर्को असन्तुष्टि
एमालेको जारी ११औँ महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान प्रक्रिया शुरु हुनुअघि देखिएको तनाव अहिले मत्थर भएको छ । भृकुटीमण्डप आसपासको अवस्था तनावपूर्ण भएको बेलामा मतदान थालिएको थियो । मतदान हिजो बिहान शुरु गर्नुपर्ने थियो ।
अध्यक्ष के.पी. शर्मा ओलीको निर्देशनपछि पटक पटक रोकिएको मतदान आज बिहान सवा ९ बजे थालिएको हो । देशभरबाट आफ्नै खर्चमा काठमाडौं आएका प्रतिनिधिहरूलाई लामो समयसम्म राजधानीमा रोकिँदा असन्तुष्टि बढ्दै गएको छ ।
हिजो सकिनुपर्ने महाधिवशेन केही दिन लम्बिएपछि उनीहरुको बसाइ असहज बनेको छ । यसअघिका महाधिवेशनमा रहेको अध्यक्ष मण्डलको व्यवस्थालाई बेवास्ता गर्दै अध्यक्ष ओली र महासचिव शंकर पोखरेलले बन्द सत्रको कमाण्ड सम्हालेपछि प्रतिनिधिहरुले असन्तुष्टि जनाएको बताइन्छ ।
विशेषगरी महासचिवमा पुनः उम्मेदवार बनेका पोखरेलप्रति लुम्बिनी प्रदेशका प्रतिनिधिहरू सबैभन्दा धेरै असन्तुष्ट देखिएका छन् । उक्त प्रदेशका प्रतिनिधिहरूले प्रदेश राजधानी बुटवलबाट दाङ सार्न भूमिका खेलेको, पछिल्लो समय पदीय आशक्ति देखाएको र क्षेत्रीय विकासप्रति बेवास्ता गरेको आरोप उनीमाथि लगाएका हुन् ।
रुपन्देही,नवलपरासी,पाल्पा,गुल्मी, कपिलवस्तु,अर्घाखाँचीका प्रतिनिधिहरूले महासचिवमा पोखरेललाई मत नहाल्ने सामुहिक सहमति नै गरेको बताइन्छ । उनीहरुका अनुसार पोखरेल मुख्यमन्त्री हुँदा रुपन्देही,नवलपरासी, पाल्पा, गुल्मी, कपिलवस्तु, अर्घाखाँची, प्युठान, रोल्पा, रुकुम, बर्दिया र बाँकेका कार्यक्रमलाई प्राथमिकताबाट हटाएर दाङ केन्द्रित गतिविधिमा सीमित गरिएको थियो ।
त्यसैगरी पोखरेलले पार्टीभित्र आफ्नै गुट निर्माण गरेको, रुपन्देहीका नेता लीला गिरीलाई मुख्यमन्त्री बन्न नदिएर अर्घाखाँचीका चेतनारायण आचार्यलाई अघि सारेको घटनालाई प्रतिनिधिहरूले उदाहरणका रूपमा उठाएका छन् । पत्नी सुजिता शाक्य र बहिनी मेनका पोखरेललाई केन्द्रीय सदस्यको उम्मेदवार बनाएको विषयमा पनि असन्तोष देखिएको छ। लुम्बिनीमा पोखरेलको निर्देशनमा भूमिश्वर ढकाल, चेतनारायण आचार्य र हरि रिजालमार्फत् गुट सञ्चालन गरिएको कारण पार्टीभित्र आन्तरिक द्वन्द्व चर्केको धेरैको बुझाइ छ ।
टिप्पणीहरू