दोहोरो नागरिकताको बिगबिगी, अर्काे पनि उजुरी
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता प्रकरण सेलाउन नपाउँदै पर्सामा दोहोरो नागरिकता लिएको आरोपमा दुई जनाविरुद्ध उजुरी दर्ता भएको छ । भारतका स्थायी नागरिक सुनीलकुमार गुप्ता र श्रीमती रञ्जनाकुमारीविरुद्ध उजुरी परेको हो । रौतहटको गरुडा नगरपालिका– ५ शिवनगर चोक घर भई हाल पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवामा डेरा बस्दै आएकी प्रियदर्शनी कुमारी गुप्ताले उजुर हालेकी हुन् । उजुरीपत्रमा भनिएको छ, ‘विवरण ढाँटी नेपाली नागरिकता प्रमाणपत्र लिएकोमा आवश्यक कारबाही चलाई दण्ड सजायँ गरी नेपाली नागरिकता प्रमाणपत्र रद्द गरी पाऊँ ।’
विभिन्न उद्योग र व्यापार व्यवसाय सञ्चालन गर्दै आएको सुनील दम्पतीसँग नेपाली र भारतीय दुवै नागरिकता रहेको पत्रमा उल्लेख छ । बिहार राज्यको पकडीदयाल गाउँस्थित जिहुली घर भएका सुनीलकुमारले विवरण ढाँटेर पर्सा प्रशासनबाट नागरिकता लिएको प्रियदर्शनीको भनाइ छ । यता, रञ्जनाले भने वंशजको आधारमा लिएको नेपाली नागरिकता प्रमाणपत्र नम्बर २११२ परित्याग नगरी भारतीय नागरिकता लिएकी छन् ।
जिहुली पञ्चायतको मतदाता नामावलीमा समेत हालसम्म नाम कायमै रहेको दम्पतीले भारतमा समेत भोट हालेको पाइएको छ । उनीहरूले दोहोरो नागरिकता प्रमाणपत्रसम्बन्धी कसूर गरेको उल्लेख गर्दै नेपाली नागरिकको हैसियतले टफी उद्योगसमेत सञ्चालन गरेको आरोप छ । साथै, नेपाललाई आर्थिक नोक्सानीसमेत पु¥याएको भनिएको छ । नागरिकतासम्बन्धी ऐन, २०६३, दफा २१ प्रतिकूलको कसूर गरेको बताउँदै दोहोरो नागरिकता लिने र लिन सहयोग पु¥याउनेलाई हदैसम्म कारबाही गर्न माग गरिएको छ ।
आपराधिक मानसिकता बनाएर आफूलाई नेपाली नागरिक बताउँदै नागरिकता ऐन २०६३ को दफा १४ विपरीत कार्य गरेको हुँदा दुवैको नागरिकता प्रमाणपत्र खारेज गर्न प्रियदर्शनीले माग गरेकी छन् । त्यस्तै, उनीहरूको मतदाता नामावलीसमेत रद्द गरेर निजहरूको नाममा भएको जग्गा, चलअचल सम्पत्ति, बैंक खाता र व्यापार व्यवसाय जफत गर्नुपर्ने उजुरीकर्ताको माग छ ।
निजको नाममा भएको जग्गासमेत बेचबिखन गर्न नपाउने गरी मालपोत कार्यालयले रोक्का राख्नुपर्ने प्रियदर्शनी बताउँछिन् । यता, प्रशासनले सुनीलकुमार र रञ्जनालाई उपस्थित गराउन जिल्ला प्रहरी कार्यालय, पर्सालाई पत्राचारसमेत गरिसकेको छ । गुप्ता दम्पतीविरुद्ध यसअघि पनि दोहोरो नागरिकताको विषयमा उजुरी परेको थियो । २०७८ फागुन ९ गते नरेश गुप्ता भन्ने व्यक्तिले ‘नागरिकता छानबिन गरी पाँऊ’ भन्दै उजुरी दर्ता गराएका थिए । १०११ नम्बरमा दर्ता भएको उजुरी भित्रभित्रै मिलाउने काम भयो । कसैलाई सुइँको नदिईकन पूर्व सिडिओ उमेश ढकालले कुरो मिलाए । १५ लाखमा फाइल नै गायब बनाइएको स्रोतको दाबी छ ।
‘सिडिओ ढकालले पहिले के–के न गर्छुझैं गरी सुनील दम्पतीलाई उपस्थित हुन निर्देशन दिएका थिए । पछि निवेदकलाई नै नबोलाईकन फाइल गायब बनाउने काम भयो’, स्रोतले भन्यो,‘१५ लाख रूपैयाँको चलखेल भएको चर्चा छ । निवेदकलाई दर्ता नम्बर थाहा छ तर प्रशासनमा कुनै फाइल छैन ।’
सुनील वीरगञ्जका धनाढ्य व्यापारी हुन् । ससुराली यतै भएकाले उनले श्रीमतीको आडमा नेपाली नागरिकता बनाई प्लास्टिक उद्योग, किराना पसललगायत उद्योग व्यवसायी सञ्चालन गरेका छन्् । आफ्नो गैरकानुनी धन्दा लुकाउनका लागि उनले प्रहरीलाई महिनावारीसमेत बुझाउने गरेको स्रोतको दाबी छ ।
अगाडिको उजुरीबारे जानकारी छैनः वेदनिधि खनाल
पर्सा प्रशासनका सहायक सिडिओ वेदनिधि खनालले सुनील दम्पतीविरुद्ध आज उजुरी दर्ता भएको जानकारी दिए । यसको छानबिनसमेत अघि बढिसकेको उनी बताउँछन्् । कार्यालयमा उपस्थित गराउन प्रहरीलाई पत्र लेखिसकेको उल्लेख गर्दै उनले भने, ‘उनीहरूले के आधारमा नागरिकता लिए ? अब छानबिन हुन्छ ।’ उनैले यसअघि दर्ता भएको उजुरीबारे आफू अनभिज्ञ रहेको बताए ।
टिप्पणीहरू