प्रधानमन्त्री र माधव नेपालबीच सिंहदरबारमा ‘आकस्मिक’ भेटघाट

प्रधानमन्त्री र माधव नेपालबीच सिंहदरबारमा ‘आकस्मिक’ भेटघाट

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । पेरिसडाँडामा माओवादी केन्द्रको पदाधिकारी बैठक शुरु हुनुअघि सिंहदरबारमा दुई नेताको भेटघाट भएको हो । 

प्रधानमन्त्री प्रचण्डलाई भेट्न अध्यक्ष नेपाल अपरान्ह ४ बजे सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा पुग्नुभएको हो । बिहान पोखरा जानुभएका प्रचण्ड केही बेरअघि मात्रै काठमाडौँ फर्किनुभएको र लगत्तै सिंहदरबारमा उक्त भेटवार्ता भएको जनाइएको छ । 

राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी मनोनयनको दिन नजिकिँदै जाँदा प्रमुख दलका शीर्ष नेताहरुको भेटघाट बाक्लिँदो छ । राष्ट्रपति कसलाई बनाउने भन्नेमा सत्तारुढ दलबीच विमति हुँदा माओवादी र समाजवादी भने राष्ट्रिय सहमतिका आधारमा सर्वस्वीकार्य पात्रलाई निर्वाचित गर्नुपर्नेमा एकमत रहेको देखिन्छ । 

राष्ट्रपतिबारे छलफल गर्न आज ४ बजे बोलाइएको माओवादी पदाधिकारी बैठक केहीबेरमा बस्दैछ । समाजवादीका नेताहरुले दिउँसो नै आन्तरिक छलफल गरिसकेका छन् । हिजो राति बालुवाटारमा प्रधानमन्त्री र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालगायत नेताहरुबीच राष्ट्रपति निर्वाचनबारे छलफल भएको थियो ।

टिप्पणीहरू