‘गुरुजी’ हरुलाई दुबई र कतार जान बन्देज

‘गुरुजी’ हरुलाई दुबई र कतार जान बन्देज

वैदेशिक रोजगार विभागले बाइक राईडर र ट्याक्सी ड्राईभरका रुपमा दुबई र कतार जान रोक लगाएको छ । 

राईडर र ट्याक्सी ड्राईभरका रुपमा दुबई र कतार जाने अधिकांश नेपाली श्रमिकहरु सम्बन्धित मुलुकको ट्राफिक नियम र सडक अनुशासनसम्बन्धी ज्ञान र अनुभवको कमीले समस्यामा परेको भन्दै विभागले त्यसका लागि पूर्वस्वीकृति प्रदान नगर्ने निर्णय गरेको छ । विभागका सूचना अधिकारी कृष्णप्रसाद भुसालले दिनहुँजसो विभागमा यस्ता समस्यासहित उजुरी तथा गुनासो आउने गरेकाले उक्त निर्णय गर्नुपरेको बताए ।

आज विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘पछिल्लो समय बाइक राईडर र ट्याक्सी ड्राईभर पदमा वैदेशिक रोजगारीको लागि दुबई र कतार मुलुकमा जाने अधिकांश श्रमिकहरु समस्यामा परेको, स्वीकृत मागपत्रबमोजिम न्यूनतम तलब प्राप्त गर्न नसकेको, सहज रुपमा लाइसेन्स प्राप्त गर्न नसक्दा लामो समयसम्म कामविहीन भई बस्नु परिरहेको छ ।’

त्यस्तै, अधिकांश श्रमिक धेरै पटक ट्राफिक कारबाहीमा परी ठूलो रकम जरिवाना बुझाउन बाध्य भएको भन्दै उनले उक्त पदको निम्ति मागपत्र प्रमाणीकरण नगर्न पनि दुबई र कतारस्थित नेपाली राजदूतावासलाई अनुरोध गरेका छन् ।

टिप्पणीहरू