भारत लैजान खोजिएको ठूलो परिमाणको चरेस सशस्त्रले रोक्यो
सशस्त्र प्रहरी बलले कैलालीबाट ठूलो परिमाणमा चरेस बरामद गरेको छ । धनगढीस्थित सशस्त्र प्रहरीको बीओपी कार्यालयले तीनजना नेपालीले भारत लैजान लागेको साढे आठ किलो चरेस सीमा नाकाबाट कब्जामा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार चरेस ओसार्नेहरु रोल्पाको थवाङ्ग गाउँपालिका–५ का ४४ वर्षीय कुमार पुन, दाङको लालमटिया–१ बस्ने ३९ वर्षीया पुनम पुन र ४१ वर्षीया दिलमाया पुन पक्राउ परेका छन् । उनीहरूलाई धनगढी–१४ एचगाउँ स्याउले घाटस्थित सीमा इलाकाबाट सशस्त्र प्रहरी बलको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक खगेन्द्र साउदले बताए ।
नेपालबाट भारततर्फ जाँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथबाट उक्त चरेस फेला परेको उनको भनाइ छ । आवश्यक प्रक्रिया पूरा गरेर चरेससहित तीनै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीमा ल्याउने तयारी भइरहेको इन्स्पेक्टर साउदले जानकारी दिए ।
टिप्पणीहरू