फागुन १७ गते पोखरामा कृषि प्रर्दशनी हुने

फागुन १७ गते पोखरामा कृषि प्रर्दशनी हुने

पोखरा महानगरपालिकाले यही फागुन १७ गते बृहत कृषि मेला प्रर्दशनी गर्ने भएको छ । पोखरा महानगरपालिका कृषि महाशाखा र कृषि सञ्जालको समन्वयमा प्रर्दशनी हुन लागेको हो । 

बिहान १० बजेदेखि ३ बजेसम्म ‘हाम्रो अभियान, स्थानीय उत्पादन प्रवद्र्धन’ भन्ने नारासहित प्रदर्शनी हुने जनाइएको छ । पछिल्लो समय आयातित तरकारीका कारण स्वदेशी उत्पादनले बजार नपाएकाले स्थानीय उत्पादनको बजारीकरण गर्न सहयोग पुर्याउने उद्देश्यले प्रदर्शनी मेला आयोजना गरिएको वडा नम्बर १३ का वडाध्यक्ष किरण बरालले बताए । वडामा उत्पादित कृषि सामग्रीलाई बजारीकरण गर्न सहयोग पुग्ने विश्वासले वडाकै खर्चमा प्रदर्शनी मेला आयोजना गर्न लगेको उनको भनाई छ ।
 
‘मेलामा १० वटा कृषि स्टल हुनेछ । त्यसको सम्पूर्ण खर्च वडा कार्यालयले व्यहोर्ने निर्णय भएको छ’, उनले भने, ‘मेलामा लगभग तीन लाखसम्म खर्च गर्ने योजना छ ।’ वडाध्यक्ष बरालका अनुसार प्रदर्शनीमा जैविक विविधता, रैथाने बाली परिकार र बाली उपचार शिविर सञ्चालन गरिनुका साथ किसानलाई उन्नत खालको प्रविधि प्रयोग गर्न जोड दिइनेछ । 

त्यस्तै, कृषकलाई बालीमा स्थानीय उत्पादन कम्पोष्ट मल प्रयोग गर्न प्रोत्साहन प्रदान गरिने र बालीको उत्पादन बढाउन बजारमा पाइने रासायनिक मल पनि घटाउन जानकारी गराइन्छ । स्थानीयलाई वडामा कस्ता सामग्री उत्पादन गर्न सकिन्छ त्यसबारे जानकारी गराई यसमार्फत वडामा कृषि रोजगारको संख्या बढाउन मेलाले मद्धत पुर्याउने वडाध्यक्ष बरालले विश्वास लिएका छन् ।
 

टिप्पणीहरू