राजधानीका पत्रकारले ६ महिनादेखि तलब नपाएपछि महासंघले सरकार गुहार्यो

राजधानीका पत्रकारले ६ महिनादेखि तलब नपाएपछि महासंघले सरकार गुहार्यो

राजधानी पब्लिकेशनद्वारा सञ्चालित राजधानी राष्ट्रिय दैनिकमा छ महिनादेखि पत्रकार तथा कर्मचारीले तलब नपाएपछि नेपाल पत्रकार महासंघले चासो देखाएको छ ।

महासंघको राजधानी प्रतिष्ठान शाखाले लामो समयदेखि सेवा सुविधा नदिएको भन्दै ध्यानाकर्षण भएको जनाएको हो । शाखाका अध्यक्ष ईश्वर विश्वकर्माले आज एक विज्ञप्ति जारी गरेर तत्काल सम्पूर्ण बाँकी भुक्तानी उपलब्ध गराउन माग गरेका छन् ।

‘प्रतिष्ठान शाखा यस दैनिकको व्यवस्थापक, सम्पादक तथा प्रशासन प्रमुखलाई आफ्नो दायित्व पूरा गर्नुमात्रै नभएर नैतिकता र मानवीय भावना देखाउन माग गर्दै पारिश्रमिक लगायतका ६ महिनाकै बाँकी भुक्तानी तत्काल उपलब्ध गराउन माग गर्दछ । अन्यथा, प्रतिष्ठान शाखा कडा आन्दोलनमा उत्रन बाध्य हुने चेतावनीसमेत दिन चाहन्छ’, विज्ञप्तिमा भनिएको छ ।

प्रतिष्ठान शाखाले सरकार र मातहतका सञ्चार प्रतिष्ठानको नियमनकारी सबै निकायलाई समेत यस विषयलाई गम्भीर रुपमा लिन अनुरोध गरेको छ । राजधानी दैनिकमा कार्यरत पत्रकार तथा कर्मचारीले लामो समयदेखि सेवा सुविधा नपाउँदा उनीहरुको दैनिक जीवन यापनमा समेत समस्या देखिएको भन्दै विज्ञप्तिमा यस्तो अवस्थामा व्यवस्थापक, सम्पादक तथा प्रशासन प्रमुख गैरजिम्मेवार देखिएको उल्लेख छ ।

‘व्यवस्थापकले पत्रकार तथा कर्मचारीलाई नियमित रुपमा काममा लगाउने तर सेवा सुविधा उपलब्ध नगराउनु, पूरा गर्नुपर्ने दायित्वको विषय मात्र नभएर नैतिकता र मानवीय संवेदनाको विषय पनि हो भन्ने शाखाको ठहर छ’, विज्ञप्तिमा भनिएको छ ।

टिप्पणीहरू