बालेनको दिव्य ज्ञान

बालेनको दिव्य ज्ञान

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई पनि थाहा भइसकेछ, अब यो देशमा केही हुन सक्दैन भनेर । पहिले त उहाँ यो देशमा धेरै गर्न सकिन्छ भन्नुहुन्थ्यो । भासन–सासन गर्दा पनि यो महानगरमा यो गर्छु, त्यो गर्छु भनेर खुब खोक्नुहुन्थ्यो । त्यतिबेलासम्म उहाँलाई यो देशमा केही गर्न सकिन्न भन्ने कुरा थाहा भइसकेको थिएन । अब बल्ल थाहा भयो ।

यो कुरा उहाँलाई कहिले थाहा भयो त भन्दा जब उहाँले आफ्ना लागि सुरक्षा व्यवस्था गरिदिनुप¥यो भनेर गृह मन्त्रालयलाई माग गर्नुभयो नि, त्यति बेला थाहा भयो । उहाँले सुरक्षा माग गर्नुभयो तर गृहले सुरक्षा दिएन । सुरक्षा नदिएपछि उहाँलाई थाहा भयो, यो देशमा त केही गर्न सकिन्न रहेछ । जाबो एउटा सुरक्षा दिन नसक्ने देशमा के गर्न सकिन्छ र हँ ?

अब बिचरा गृहले पनि उहाँलाई के सुरक्षा देओस् र ! स्वयं गृहमन्त्रीलाई त गृह मन्त्रालयले सुरक्षा दिन सकेन भने मेयरलाई के देला? अस्ति देखिहाल्नुभयो । के–के काण्डमा परेर गृहमन्त्रीले डेढ महिनामै सरकार छाड्नुप¥यो । गृह मन्त्रालयले बचाउन सक्यो ? आफ्नै गृहमन्त्रीलाई त बचाउन नसक्ने गृह मन्त्रालयले मेयरलाई कसरी बचाउन सक्ला र ?

त्यसो त महानगरमा मेयर मात्र होइन, जनता पनि कोही सुरक्षित छैन । दिनदिनै चोरी भइरहेको छ, दिनदिनै हातपात भइरहेको छ । तर, मेयर साबलाई जनता सुरक्षित नभएकोमा होइन, आफू सुरक्षित नभएपछि बल्ल थाहा भयो, यो देशमा त केही गर्न नसकिने रहेछ ।

टिप्पणीहरू