काठमाडौं महानगरलाई घर भाडामा दिन भित्री शहरका स्थानीय अनिच्छुक
मेलमिलाप केन्द्र सञ्चालन गर्न भाडाको भवन नपाएपछि काठमाडौं महानगरपालिकाका वडा कार्यालयहरुलाई सेवा प्रदानमा सकस परेको छ । महानगरपालिकाको भित्री शहरी क्षेत्रमा भाडाको भवन नपाएपछि मेलमिलाप केन्द्र सञ्चालन गर्न कठिन भएको हो ।
व्यवसायिक क्षेत्रमा सरकारी कार्यालयलाई स्थान दिँदा भाडा रकम कम आउने भएकाले भाडाको भवन पाउन मुश्किल परेको महानगरपालिकाले जनाएको छ । व्यवसायीहरुले धेरै भाडा दिने भएपछि ठाउँ पाउन कठिन भएको महानगरकी उपप्रमुख एवम् न्यायिक समितिकी संयोजक सुनिता डंगोलले बताइन् ।
भौतिक संरचनाको स्थलगत अवलोकनको क्रममा भाडाको भवन नपाउनुको पछाडि यस्तो कारण देखिएको उनको भनाइ छ । न्यायिक समितिका सदस्य र कानुन तथा मानव अधिकार विभागसहितको टोलीले वडामा मेलमिलाप केन्द्रलाई राखेर सेवा तथा कार्यालय व्यवस्थापनको पक्षमा अवलोकन गरिरहेको छ ।
यसैक्रममा महानगरपालिकाले हिजो वडा नम्बर १२, १७, १९, २०, २१ र २५ गरी ६ वटा वडाको निरीक्षण गरेको छ । वडा नम्बर १२ अहिले भाडाको भवनमा सञ्चालित छ । यसको नयाँ भवन निर्माण हुँदैछ । नयाँ भवनमा सरेपछि मेलमिलाप कक्षका लागि पर्याप्त ठाउँ हुने वडाध्यक्ष बालकृष्ण महर्जनले बताए ।
त्यस्तै, वडा नम्बर १७ को आफ्नै भवन भए पनि मेलमिलाप केन्द्र भने छुट्टै कोठामा सञ्चालन हुँदै आएको छ । वडा नम्बर १९ को साँघुरो भवन भएकाले त्यहाँ नयाँ निर्माण गर्ने योजना अघि बढाइएको छ । वडा नम्बर २५ ले भाडाको भवनबाट सेवा दिँदै आइरहेको छ । त्यहाँ पनि वडालाई फराकिलो ठाउँमा सार्ने योजना बनाइएको छ ।
टिप्पणीहरू