राष्ट्रपतिले राप्रपामा रडाको

राष्ट्रपतिले राप्रपामा रडाको

राजतन्त्र फर्काउने अभियानमा रहेको पूर्वपञ्चहरुको पार्टी राप्रपामा राष्ट्रपति निर्वाचनमा भोट हाल्ने कि नहाल्ने भन्ने विवाद चर्किएको छ । भोलि हुने राष्ट्रपति चुनावमा पार्टीको लाइन 'क्लिएर' गर्न बसेको कार्यसम्पादन समितिको बैठकमा नेताहरुका दुइथरी धारणा आएपछि विवाद भएको हो । 

बैठकमा अध्यक्ष राजेन्द्र लिङ्गदेनसहितका धेरै नेताहरु राष्ट्रपति चुनावमा भोट हाल्नुपर्ने पक्षमा रहँदा अन्य केही नेताहरु भने तटस्थ बस्नुपर्ने अडानमा रहेको बताइएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी बैठकले यसबारे निर्णय लिने बुझिएको छ ।

राष्ट्रपति निर्वाचनमा काँग्रेस नेता रामचन्द्र पौडेल र एमाले उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार छन् । पौडेल कांग्रेस, माओवादीसहित आठ दलको तर्फबाट अघि सारिएका साझा उम्मेदवार हुन् भने नेम्वाङलाई आफ्नै पार्टी एमालेबाहेक अन्य दलको समर्थन जुटिसकेको छैन । यस्तो स्थितिमा राप्रपाले भने कसलाई भोट हाल्ने भनेर निर्णय गर्न सकेको छैन । 

हिन्दु राष्ट्र र राजतन्त्रको पक्षधर भए पनि राप्रपाका अध्यक्ष लिङ्गदेनको एमाले अध्यक्ष केपी ओलीसँग निकटता छ । त्यसकारण एमाले उम्मेदवार नेम्वाङको पक्षमा भोट हाल्ने लिङ्गदेनको चाहाना छ भनिन्छ । त्यसलाई उनले पार्टीको बैठकबाट औपचारिक निर्णय गराउन चाहेका छन् । तर, धवलशमशेर राणा, ज्ञानेन्द्र शाहीलगायतका कतिपय नेताहरुले भने राजतन्त्रको पक्षधर शक्ति भएकाले दुबै उम्मेदवारलाई भोट नहालेर पार्टी तटस्थ बस्नुपर्ने ढिपीमा छन् । 

राप्रपाले उम्मेदवारको प्रस्तावक र समर्थक नबस्ने निर्णय यसअघि नै गरेको थियो । तर, विवादकै कारण  मतदान गर्ने नगर्नेबारे भने निर्णयमा पुग्न सकस परेको हो । कसलाई मत दिने भन्ने विषयमा  पार्टीले उपयुक्त निर्णय गर्ने सो पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताउने गरेका छन् ।

टिप्पणीहरू