गाउँगाउँमा, गुरुगुरुबीच गडबडी

गाउँगाउँमा, गुरुगुरुबीच गडबडी

म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ४ सिंगास्थित धौलागिरी माध्यमिक विद्यालयमा चरम बेथिति देखिएको छ । विद्यालय भवन निर्माणदेखि लिएर प्रधानाध्यापक चयनमा अनियमितता पाइएको छ । नयाँ प्रधानाध्यापक आएको १० महिना बितिसक्दा पनि कागजात हस्तान्तरण भएकै छैन । राजनीतिक दलदलमा फसेको कारण पनि उक्त विद्यालयमा समस्या निम्तिएको बताइन्छ । लामो समयदेखि तीन जना शिक्षकले आलोपालो प्रधानाध्यापक खाइरहेका छन् । शुरुमा केशव रेग्मी थिए ।

२० वर्ष कार्यरत उनी त्यसपछि अन्तै जागिर खान थाले । त्यसपछि त्यही पढाँउदै आएका शिक्षक भुवन रेग्मीलाई सो जिम्मेवारी सुम्पियो । भुवनले स्वास्थ्यमा समस्या देखिएको भन्दै डण्डपाणी सापकोटालाई प्रधानाध्यापक बनाएर आफू पन्छिए । डण्डपाणीले पाँच वर्ष चलाए तर अहिले फेरि पनि भुवन नै प्रधानाध्यापक बनेका छन् । गत स्थानीय तह निर्वाचनताका प्रधानाध्यापक बनेका भुवनलाई अहिलेसम्म पनि बुरबुझारत भएको छैन । यता व्यवस्थापन समितिका अध्यक्ष भगवान खड्काले भने बरबुझारत भइसकेको दाबी गरेका छन् । यो विषयलाई धेरै उठाइराख्न आवश्यक नभएको उल्लेख गर्दै उनले भुवनलाई बरबुझारत दिइसकेको ठोकुवा गरेका हुन् । ‘उहाँले प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्नेबित्तिकै सबै बुझाएका हौं । 

यता, पूर्व प्रधानाध्यापक डण्डपाणीले पनि भुवनलाई बुझाइसकेको बताए । आफ्नो स्वास्थ्यमा खराबी देखिएको भन्दै उनले जिम्मेवारी छोडेको डण्डपाणीको भनाइ छ । ‘उहाँले मेरो स्वास्थ्यमा खराबी देखियो भन्दै प्रधानाध्यापकको जिम्मेवारी छोड्नुभएको थियो । त्यसपछि पाँच वर्षजति मैले सम्हाले । अहिले फेरि म नै बन्छु भनेपछि मैले हुन्छ भनेको हुँ । हाल यहीं पढाइरहेको छु’, उनले भने ।डण्डपाणीले राम्रोसँग जिम्मेवारी निर्वाह गर्न नसकेपछि आफूलाई नै प्रधानाध्यापक बनाइएको भुवनको भनाइ छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खड्का र डण्डपाणीको मिलेमतोमा अहिलेसम्म सबै थोक नदिइएको अनुमान छ । विद्यालयमा कार्यरत २६ शिक्षकमध्ये धेरैलाई बरबुझारतबारे थाहा छैन । 

‘प्रधानाध्यापकलाई अहिलेसम्म केही दिइएको छैन । दिएको भए हामीलाई थाहा हुनुपर्ने हो’, एक शिक्षकले भने, ‘औपचारिक रूपमा भएको छैन । लुकाईछिपाई गर्ने कुरा भएन । अस्तिसम्म विद्यालयको हिसाबकिताब अडिट गरिँदै थियो । त्यसैले पनि अहिलेसम्म रोकिएको हुन सक्छ ।’ अध्यक्ष खड्का र डण्डपाणी माओवादीबाट हुन् । यता, केशव र भुवन भने कांग्रेस कार्यकर्ता हुन् । शिक्षक समिति तथा समन्वय ईकाइका प्रमुख दलबहादुर थापाले बरबुझारत गर्ने तयारी भइरहेको जानकारी दिएका छन् । अबको एकाध महिनामा बरबुझारत भइसक्ने उनको भनाइ छ । उनका अनुसार डण्डपाणीको कार्यशैली चित्तबुझ्दो नहुँदा सबैतिरबाट एकदमै बढी गुनासो आइरहेको थियो ।

सबैतिरबाट चर्को विरोध भएपछि उनले पद छोडेका हुन् । कक्षा १ देखि १२ सम्म पढाइ हुने धौलागिरी माध्यमिक विद्यालयमा भवनको अभाव हुँदा पठनपाठनमा निकै समस्या भइरहेको छ । हाल त्यहाँ दुईकोठे भवन निर्माण गरिँदैछ । ०७६/७७ सालमा नगरपालिकाभित्रका थुप्रै स्कुलमा भवन निर्माण गरिएको थियो । त्यतिबेला धौलागिरी मावि र अर्जुन माविमा चार–चार कोठे भवन बनाइयो । तर, भवन निर्माण लागत हेर्ने हो भने यी दुई माविमा धेरै अन्तर छ ।

अर्जुन मावि डाँडामा छ । त्यहाँ निर्माण सामग्री लैजान पनि निकै सास्ती छ । यता, धौलागिरी माविमा भवन निर्माण गर्न बालुवासमेत म्याग्दी खोलाबाट लगिएको थियो । त्यहाँ भवन बनाउन शुरुमा ७० लाख रूपैयाँ विनियोजित गरिएको थियो । तर, अपुग भएपछि नगरपालिकाले थप १० लाख रूपैयाँ सहयोग गरेको हो । यता, अर्जुन माविमा भवन बनाउन ६७ लाख रूपैयाँ खर्च भएको छ । ईकाइका प्रमुख थापा खर्च बढी लाग्नुको कारण आफूलाई थाहा नभएको बताउँछन् । 

‘खर्च के कारणले बढी लाग्यो, यो मलाई थाहा भएन । तर, बालुवाचाहिँ किनेकै हौं । प्राविधिकले म्याग्दी खोलाको बालुवा गुणस्तरयुक्त नभएको बताएपछि अन्तिममा किन्नुपरेको थियो’, उनले भने । हाल निर्माण भइरहेको दुईकोठे भवनका लागि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममार्फत २५ लाख रूपैयाँ बजेट विनियोजित गरिएको उनको भनाइ छ । 
 

टिप्पणीहरू