रविको पार्टी तत्काल सरकारमा नजाने,थप छलफल गरिने

रविको पार्टी तत्काल सरकारमा नजाने,थप छलफल गरिने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टी तत्काल सरकारमा नजाने बताएका छन् । आगामी बैशाख १० गते हुने उपनिर्वाचनको निम्ति चितवन पुगेका उनले राजनीतिक परिस्थितिको मूल्यांकन गरिएको तर सरकारमा जाने सोच नबनाइसकेको उल्लेख गरेका छन् ।

वर्तमान पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता नलिएको बताउँदै लामिछानेले भनेका छन्, ‘अब के गर्ने भन्नेबारे पार्टीभित्र छलफल हुनेछ ।’

उनी चितवनको निर्वाचन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनको निम्ति चितवन पुगेका हुन् । गत आमनिर्वाचनमा सोही क्षेत्रबाट विजयी लामिछाने अमेरिका र नेपालको नागरिकता लिएको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासबाट दोषी ठहरिएपछि सांसद,गृहमन्त्री,पार्टी सभापति,संसदीय दलको नेता सबै जिम्मेवारीबाट गत माघ १३ गते पदमुक्त भएका थिए । 

सोही कारण रिक्त रहेको चितवन २ मा बैशाख १० गते उपनिर्वाचन हुँदैछ । यता,राष्ट्रपतिमा निर्वाचित नेपाली काँग्रेसका सांसद रामचन्द्र पौडेलको तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा पनि सोही दिन उपनिर्वाचन हुने निर्वाचन आयोगले बताइसकेको छ ।

टिप्पणीहरू