बालुवाटार जान नदिएपछि व्यापारीले भाटभटेनीमा पलेटी कस्ने
व्यापारी तथा व्यवसायीहरुले बैंकको ब्याजदर महँगो भएको विरोधमा आज पनि धर्ना दिने भएका छन् । उनीहरुले नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटार बाहिर बिहान ११ बजे धर्नाको कार्यक्रम राखेका हुन् ।
तर, निषेधित क्षेत्र भन्दै प्रहरीले उक्त क्षेत्रमा हिजो धर्ना, विरोध गर्न नदिएपछि आज भाटभटेनी मन्दिर नजिकै विरोध कार्यक्रम गर्न लागेको बताइएको छ । उनीहरुले हिजो राष्ट्रिय दैनिकमा सूचना प्रकाशित गरेर बालुवाटारमा ‘बृहत भेला’ बोलाइएको जानकारी दिएका थिए ।
बैंक तथा वित्तीय समस्या संघर्ष समिति नेपालले बैंक तथा वित्तीय समस्याको समाधान गर्ने भने पनि चुरो कुरो ब्याज घटाउने, ऋणको म्याद बढाउने र सकेसम्म मिनाहा गराउने उद्देश्य राखेर विरोध कार्यक्रम गरेका हुन् ।
उनीहरुले बैैंक तथा वित्तीय संस्थाले कर्जामा चर्को ब्याज असुलेको आरोप लगाउँदै आएका छन् । कतिपयले कोभिड महामारीलगायतको सन्दर्भ उल्लेख गर्दै कर्जा मिनाहासम्मको माग राखेको पाइएको छ ।
उता मकवानपुरका ३२ वटा व्यापारी तथा व्यवसायगत संघ संस्थाका व्यवसायीहरु बैंक था वित्तीय संस्थाविरुद्ध अराजक ढंगले अघि बढेका छन् । उनीहरुले सर्वसाधारणलाईसमेत भड्काउने ढंगले ‘बैंकमा नगद जम्मा नगरौं’ भन्ने सन्देशसहित अस्तिदेखि आन्दोलन थालेका हुन् ।
टिप्पणीहरू