शीतल निवास छिरेको २४ घण्टामा राष्ट्रपतिको होइन,फोटोको विवाद

शीतल निवास छिरेको २४ घण्टामा राष्ट्रपतिको होइन,फोटोको विवाद

राष्ट्रपति रामचन्द्र पौडेलले अस्ति दिउँसो साढे १ बजे पद तथा गोपनीयताको शपथ र पदभार ग्रहण गर्नुभएको छ । उहाँको शीतल निवास प्रवेशसँगै राष्ट्रपति कार्यालयले हिजो राष्ट्रप्रमुखको औपचारिक तस्बिर सार्वजनिक गरेको छ । उमेरले ७६  कटिसक्नुभएका राष्ट्रपतिको प्राकृतिक अनुहारलाई प्रविधिमार्फत चिल्लो र भर्खरको बनाइएपछि चारैतिर चर्चा र आलोचना भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलको झण्डै ३ दशकदेखि देखिएको अनुहारभन्दा फरक अनुहार प्रस्तुत गरिएपछि फोटो विवादमा तानिएको छ । मानिसका अनुहार र देखिने अन्य ठाउँका कोठी,प्राकृतिक दाग, घाउको खत पनि उसका विशेषता र हुलिया हुने कानुनी मान्यता छ । कसैको दुर्घटनामा ज्यान गएको अवस्थामा वा क्षतविक्षत शरीर भएको समयमा पनि पहिचान खुलाउने माध्यमसमेत त्यही नै हो ।

हास्यव्यङ्ग्यकार लक्ष्मण गामनाङेले लेखेका छन्, ‘हामीलाई कोठीसहितका रामचन्द्र चाहिन्छ ।’

अर्कोतर्फ विदेश यात्रा गरिने राहदानी वा ट्राभल एजेन्सीमा टाँसिने फोटोमा मानिसको पहिचानको निम्ति त्यस्ता प्राकृतिक चिन्ह हुबहु देखिने हुनुपर्ने अन्तर्राष्ट्रिय मान्यता छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनलेसमेत बर्जित गरेको विषयलाई नजरअन्दाज गरेर राष्ट्रपतिको फोटो डेन्टपेन्ट गर्नुको कारणबारे विज्ञहरुले प्रश्न गरेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलको अनुहारको दायाँ र बायाँ गालाको अघिल्तिर ठूला दुई कोठी छन् । दायाँतर्फको ठूलो र कालो छ भने बायाँतर्फको सानो र मधुरो देखिन्छ । उहाँका अनुहारमा धेरै वटा साना कोठी पहिलेदेखिका फोटामा देखिन्छन् । तर,अहिले राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको औपचारिक फोटोमा ती सबै दाग हटाएर चिरिच्याट्ट पारिएको छ ।

राष्ट्रपतिको फोटोबारे सामाजिक सञ्जालमा भएको चर्चामा हास्यव्यङ्ग्यकार लक्ष्मण गामनाङेले लेखेका छन्, ‘हामीलाई कोठीसहितका रामचन्द्र चाहिन्छ ।’

टिप्पणीहरू