पार्टीले पैसा तिरेन भन्दै सचिवकी बुहारीको हारगुहार

पार्टीले पैसा तिरेन भन्दै सचिवकी बुहारीको हारगुहार

एमाले जिल्ला कमिटीले उधारो चुक्ता नगरेपछि म्याग्दीको बेनी नगरपालिकाका मेयर एवम् पार्टी जिल्ला सचिव सुरत केसीकी बुहारी मनिता रायमाझी फेसबुकमार्फत गर्जिएकी छन् । पटकपटक ताकेता गर्दा पनि उधारो तिर्न अटेर गरेको भन्दै उनले सामाजिक सञ्जालमार्फत नामावली सार्वजनिक गरेकी हुन् । जसमा नेकपा एमालेको जिल्ला कमिटी पनि परेको छ ।

आफ्नै ससुरा जिल्ला सचिव रहेको पार्टीले झण्डै चार वर्षअघि लगेको सामानको भुक्तानी नगरेको उनको भनाइ छ । २०७५ सालको संविधान सभा चुनावताका लगेको स्टेशनरी सामानको पैसा अहिलेसम्म पनि नदिएको उनी बताउँछिन् । एमालेले एक लाख ६० हजार ६५० रुपैयाँ तिर्न बाँकी रहेको जारी नामावलीमा उल्लेख छ । 

यता, उनले नाम सार्वजनिक गरेपछि कमेण्ट लेख्नेहरूको ओइरो लागेको छ । एउटा सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन्, ‘उधारो लिनलाई लाज हुँदैन । बेइज्जतीहरू ।’ त्यस्तै, अर्कोले भनेका छन्, ‘व्यवसायीलाई धरासायी बनाउने मेन त राजनीतिक पार्टी रहेछन् भन्ने प्रमाणित भयो ।’उनले योसँगै अन्य १० जनाको नामसमेत छरपस्ट पारेकी छन् । जसमा जिल्ला खेलकुद विकास समिति, म्याग्दी पनि समावेश छ । समितिले २२ हजार ९५० रुपैयाँ तिर्न बाँकी छ ।

 

त्यस्तै, सनसाइन बोर्डिङ्ग स्कूलको एक लाख ८४ हजार ४९७, बालु पुर्जाको २९ हजार ६६५, विनोद गोतामेको सात हजार ४७५, शिशिर कार्कीको चार हजार ५२८, मन्दिप बागदासको दुई हजार ४१५, जितुभाषाको १० हजार २१५, जनक सुनामको दुई हजार ८४० र बिक्की बराइलीको तीन हजार पाँच सय रुपैयाँ उधारो छ ।
 

टिप्पणीहरू