प्रधानमन्त्रीलाई पार्टीले विश्वासको मत दिएसँगै रवि लामिछानेको राहदानी दुरुपयोग मुद्दा तामेलीमा

प्रधानमन्त्रीलाई पार्टीले विश्वासको मत दिएसँगै रवि लामिछानेको राहदानी दुरुपयोग मुद्दा तामेलीमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले दोहोरो नागरिकता लिएपछि बनाएको नेपालको राहदानी र त्यसको दुरुपयोग सम्बन्धी मुद्दा नचलाइने भएको छ । महान्यायाधिवक्ताको कार्यालयले लामिछानेको उक्त मुद्दा अघि नबढाउने निर्णय गरेको छ ।

प्रतिनिधि सभाको आज बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई रास्वपाले विश्वासको मत दिएसँगै उक्त पार्टीका अध्यक्ष लामिछानेको राहदानी दुरुपयोग सम्बन्धी मुद्दा नचलाउने निर्णय भएको हो । यसअघि प्रधानमन्त्रीलाई विश्वासको मत दिने सम्बन्धमा लामिछानेले सोही अडान राख्दै आएको समाचार बाहिरिएको थियो । 

यसअघि दोहोरो नागरिकता सम्बन्धमा सर्वोच्च अदालतको संवैधानिक इजलासले गत माघ १३ गते उनलाई दोषी ठहर गरेपछि सांसद, पार्टी सभापतिलगायत सबै पदबाट हटेका थिए । अदालतको उक्त आदेशमा राहदानी दुरुपयोग सम्बन्धी विषय प्रहरी प्रशासनले अघि बढाउन सक्ने उल्लेख थियो । 

तर उनले दोहोरो राहदानी लिएर दुरुपयोग गरेको विषयमा जिल्ला प्रहरी परिसर टेकु, जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं र उच्च अदालत सरकारी वकिलको कार्यालयले मुद्दा अघि नबढाउने सिफारिस गरेका हुन् । सोही सिफारिसका आधारमा आज महान्यायाधिवक्ता दीनमणि पोखरेलले मुद्दा नचल्ने निर्णय गरेको बताइन्छ ।

टिप्पणीहरू