थर मोदी भएर मात्र के गर्नु नेपालमा

थर मोदी भएर मात्र के गर्नु नेपालमा

मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारमै बेथिति कति कति ! एउटा कर्मचारीका अगाडि सचिव, मन्त्रीमात्र होइन सरकारै डराएको र निर्णयबाट पछि हटेको दृश्य खोज्न धेरै टाढा गइरहनै परेन । सरकारले गत फागुन ११ गते एकै पटक ६१ सहसचिवको सरुवा गर्‍यो । सूचीको ४९ नम्बरमा थियो रुद्रमानसिंह तामाङको नाम । उनलाई गृह मन्त्रालय वा अन्तरगत खटाइएको भए पनि अहिले सामान्यमै थमौती हुन सफल भएका छन् । काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुँदासम्म पत्रकार परिचयपत्र बोकेर हिँड्ने तामाङ नुवाकोटे ठेकेदार बहादुरसिंह लामाको बलमा निजामती सेवाका मालदार ठाउँतिर जम्दै आएको बताइन्छ । 

निजामतीमा शक्तिको आड लगाउने दर्जनौं कर्मचारी छन्, तिनलाई सो मन्त्रालय छाडेर दायाँ बायाँ हुनु परेको छैन । ऋषि आचार्यले प्रकाशमान सिंहको पालादेखि सामान्यको चौघेरा तोडेर बाहिर जानुपरेको छैन । कर्मचारी संगठनका सल्लाहकारको भूमिकामा रहेका आचार्यलाई तह लगाउनसक्ने एउटै सचिव र मन्त्री देखिएको छैन । यीभन्दा पनि जब्बर उपसचिव छन् रवीन्द्रजंग थापा । २० औं वर्षमा तिनलाई सिंहदबारको गेट छाडेर कतै दूरदराजतिर जानुपरेको छैन । सामान्यको कर्मचारी प्रशासन शाखामा बसेर चलखेल गरेको थाहा पाएपछि तत्कालीन सचिव एकनारायण अर्यालले ऊर्जामा पठाएकोमा एकनारायण सरुवा भएलगत्तै सामान्यमा फर्किएका छन् । यसअघि कर्मचारी प्रशासन महाशाखामा हुँदा आफ्नो कन्सल्टेन्सीलाई काम दिएदेखि प्रमुख प्रशासकीय अधिकृत सरुवा वा थमौती गर्दा हरेकसँग तीनदेखि पाँच लाखसम्म असुलेको कर्मचारीहरू बताउँछन् ।

पूर्वउपप्रधानमन्त्री कमल थापाका नातेदार हुन् । थापा परराष्ट्रमन्त्री हुँदाकै नयाँदिल्लीको दूतावासमा ४ वर्ष काम गर्ने मौका पाएका थिए । सामान्यबाट केही समय ऊर्जामा पुगे तर एनपी साउदको पावर लगाएर देउवा प्रधानमन्त्री भएको तीन दिनमै फर्किए । उनको एक जना भाइ एनपी साउदको स्वकीय छन् । अघिल्लो वर्ष यसो गरी गरी तक्मा हात पारे । अहिले प्रशासन सुधारको ठूल्ठूला कुरा गर्ने अमनलाल मोदीले तिनको शाखा मात्र परिवर्तन गरेका हुन्, कर्मचारी प्रशासनबाट सूचनातिर । यस्तै अघिल्लो वर्षमात्र एमाले निकट नेपाल निजामती कर्मचारी संगठनको उपमहासचिव बनेका नासु रामचन्द्र अधिकारी ‘आरसी’ दश वर्षदेखि संघीय मामिलाको आन्तरिक शाखामै छन् ।

त्यहाँका रैथाने कर्मचारीमा सामान्य प्रशासनको पूर्व ट्रेड युनियनका अध्यक्ष गणेश आचार्य, उपसचिव महेन्द्रकुमार सापकोटा, नासु गोविन्द फुयाँल, अधिकृतहरू उमेश पराजुली, शेखरनिधि दाहाललगायत छन् । 

टिप्पणीहरू