तराईको एउटा जिल्लामा ४ सय सवारी दुर्घटना, ३९ को मृत्यु

तराईको एउटा जिल्लामा ४ सय सवारी दुर्घटना, ३९ को मृत्यु -सन्तोष बराइली

सिरहामा चालु आर्थिक वर्षको ८ महिनामा ४ सय २४ सवारी दुर्घटना भएको छ । ती  दुर्घटनामा ३९ जनाले ज्यान गुमाएका छन् ।

गत साउनमा भएका ४२ सवारी दुर्घटनामा पाँच जनाले ज्यान गुमाएको जिल्ला ट्राफिक कार्यालय, लाहान, सिरहाले जनाएको छ । भदौमा ५३ वटा सवारी दुर्घटना भएको र दुई जनाको मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ । 

गत असोज र कात्तिक महिनामा क्रमश ः ६३ र ६९ सवारी दुर्घटना भए । दुबै महिनाको दुर्घटनामा १० जनाले ज्यान गुमाएका थिए । त्यसैगरी मंसिर, पुस, माघ र फागुन महिनामा क्रमशः ५६, २६, ५० र ६५ वटा तथा चैतको पहिलो साता ८ वटा गरेर जम्मा ४ सय २४ सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा ३९ जनाले ज्यान गुमाएको जिल्ला ट्राफिक कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

सडक दुर्घटना बढ्नुुको प्रमुख कारण जनचेतनाको अभाव रहेको बताउँदै सिरहा जिल्ला ट्राफिक कार्यालयका प्रमुख ट्राफिक प्रहरी निरीक्षक मीनबहादुर बस्नेत भन्छन्, ‘स्थानीय तहसँग समन्वय गरेर जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने योजना बनाएका छौं ।’

बस्नेत फागुन २५ गतेदेखि लहान कार्यालयमा हाजिर भएका हुन् । यसअघि सिरहा जिल्ला ट्राफिक कार्यालय प्रमुखमा टुपेन्द्रबहादुर श्रेष्ठ थिए । १० महिना नपुग्दै श्रेष्ठको हेड क्वार्टर सरुवा भएको छ ।         

चालू आर्थिक वर्षको ८ महिनामा विभिन्न कारबाहीवापत ट्राफिक कार्यालयले २ करोड  ४७ लाख ५० हजार राजश्व संकलन गरेको छ । मापसेका ८२ कारबाहीबाट ८२ हजार राजश्व संकलन भएको ट्राफिकले जनाएको छ । लहान यातायातको २८ करोड ६० लाख  राजश्वसमेत गरेर सिरहाको यातायात व्यवस्था कार्यालयले चालू आर्थिक वर्षको फागुन महिनासम्म २८ करोड ६० लाख २६ हजार २ सय ३९ रूपैयाँ सकंलन गरेको छ । 

कार्यालय प्रमुख कुशेश्वर साहका अनुसार सडक निर्माण तथा सम्भार दस्तुर १४ लाख ४० हजार, कम्पनी रजिष्ट्रेशन दस्तुर ३८ हजार ७ सय, अन्य प्रशासनिक सेवा शुल्क १ लाख १९ हजार ७ सय ५० रूपैयाँ, प्रशासनिक दण्ड जरिवाना र जफत ३० हजार रूपैयाँ, आयकर ७७ लाख १८ हजार २ सय ७५ रूपैयाँ, सवारी कर २० करोड २३ लाख ७२ हजार १ सय ४३ रूपैयाँ संकलन भएको हो ।

त्यसैगरी चालक अनुमतिपत्र र सवारी दर्ता किताब सम्बन्धी दस्तुर ७ करोड ३९ हजार ४ सय ७० रूपैयाँ, यातायात क्षेत्रको आम्दानी ५५ लाख ६३ हजार ९ सय १ रूपैयाँ गरेर फागुन मसान्तसम्म कुल २८ करोड ६० लाख २६ हजार २ सय ३९ रूपैयाँ राजश्व संकलन भएको बताइन्छ ।

सवारी चालक अनुमतिपत्र वितरण शाखाका सहायक शाखा अधिकृत विजय दहाल भन्छन्,‘यो चालू आर्थिक वर्षको ८ महिनामा संकलन भएको राजश्व हो । यो वर्ष सम्भवतः ३५ करोड रुपैयाँभन्दा बढी राजश्व संकलन हुन्छ होला ।’

टिप्पणीहरू