बाग्मतीका मुख्यमन्त्रीलाई विश्वासको मत, पक्षमा ६७ जना सदस्य
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन् । जम्कट्टेलको पक्षमा ६७ र विपक्षमा १७ मत परेको छ । विश्वासको प्रस्ताव सम्बन्धी मतदानमा सात जना प्रदेशसभा सदस्य तटस्थ बसेको बताइएको छ ।
प्रदेशसभाको आज बसेको बैठकमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री जम्कट्टेललाई आफ्नो दल, नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीले विश्वासको मत दिएका हुन् । एमाले र नेपाल मजदुर किसान पार्टीले विपक्षमा मतदान गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी भने तटस्थ बसेको छ ।
मुख्यमन्त्री जम्कट्टेलले यसअघि माघ ३ गते प्रदेश सभाबाट विश्वासको मत लिएका थिए । तर, राप्रपाले समर्थन फिर्ता लिएपछि आज पुनः विश्वासको मत लिइएको हो । आजै एमालेले जम्कट्टेल नेतृत्वको सरकारबाट बाहिरिएर आफूले सरकारलाई विश्वासको मत नदिने निर्णय सुनाएको थियो ।
टिप्पणीहरू