रविको पार्टी तीनै ठाउँमा एक्लै भिड्ने, उम्मेदवारी दर्ताका लागि नाम मागियो
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बैशाख १० को उपचुनावमा एक्लै प्रतिस्पर्धा गर्ने भएको छ । आज बसेको केन्द्रीय समिति बैठकले उपचुनाव हुने तीनवटै क्षेत्रमा उम्मेदवारी दिने निर्णय गरेको हो ।
१० दलीय गठबन्धनलाई समर्थन गरेपनि सरकारमा सहभागी नभएको रास्वपाले एमाले या सत्तारुढ काँग्रेस–माओवादीसँग मिलेर उपनिर्वाचन लड्ने यसअघि चर्चा थियो । तर, आजको बैठकले तालमेल नगर्ने निर्णय गरेको हो ।
रास्वपाले उम्मेदवार चयनका लागि पार्टी विधानको धारा ७१ बमोजिम प्रारम्भिक निर्वाचन सञ्चालन गर्ने निर्णय पनि गरेको छ । साथै, उम्मेदवारी दर्ता आह्वान पनि गरिएको छ । जसअनुसार उम्मेदवार हुन चाहनेहरुले सो पार्टीको वेबसाइटमा राखिएको प्रतिनिधि सभा सदस्यता निर्वाचन आवेदन फाराम भरेर आफ्नो उम्मेदवारी दर्ता गर्नसक्ने व्यवस्था मिलाइएको छ ।
बैशाख १० मा चितवन क्षेत्र नम्बर २, तनहुँ क्षेत्र नम्बर १ र बारा क्षेत्र नम्बर २ मा उपचुनाव हुँदैछ । रवि लामिछाने नागरिकता अवैध ठहरिएपछि उनको सांसद पद खारेज भएसँगै चितवन–२ रिक्त भएको हो । त्यहाँ लामिछानेलाई नै उम्मेदवार बनाउने रास्वपाको तयारी छ ।
त्यस्तै, तनहुँ–१ का सांसद रामचन्द्र पौडेल राष्ट्रपति र बारा–२ का सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि ति क्षेत्र पनि रिक्त भएका हुन् ।
टिप्पणीहरू